Kathmandu Press

दुई हजार पर्ने पीसीआर परीक्षणको तीन हजार नाै सय रुपैयाँ असुल्दै डिकोड प्रयोगशाला*

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे संरक्षणामै निजी प्रयाेगशालाहरुले कोरोना भाइरसको परीक्षणमा सर्वसाधारणबाट मनपरी शुल्क लिइरहेका छन्।
दुई हजार पर्ने पीसीआर परीक्षणको तीन हजार नाै सय रुपैयाँ असुल्दै डिकोड प्रयोगशाला*

भक्तपुर, असोज १४ : कोरोना भाइरसको परीक्षणमा निजी प्रयोगशालाले सर्वसाधारणबाट मनपरी शुल्क लिइरहेका छन्। दुई हजार रुपैयाँ पर्ने पीसीआर परीक्षणको दाेब्बर असुलेको पाइएको छ।

सरकारले पीसीआर परीक्षणका लागि दुई हजार रुपैयाँ शुल्क तोकेको छ। तर, सिनामंगलस्थित डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टरले झण्डै दाेब्बर शुल्क लिएको पाइएको छ।

काठमाडौं प्रेसलाई प्राप्त एक बिलमा दुई जनाको कोरोना परीक्षण गरेको सात हजार आठ सय रुपैयाँ लिएको पाइएको छ। पीसीआर टेस्टका लागि असोज ७ गते नगदै सात हजार आठ सय रुपैयाँ लिएको छ भने त्यसमा तीन हजार नौ सय रुपैयाँ बाकी देखाइएको छ।

Hardik ivf

तर, परीक्षण गरेको एक साता बित्दा पनि त्यो पैसा फिर्ता नदिएको परीक्षण गर्ने व्यक्तिले बताएका छन्। ‘पीसीआर टेस्ट गर्दा पूरै पैसा लिन्छन, बिलमा बाँकी देखाएपनि पछि दिने गरेका छैनन,’ उनले भने।

डिकोडले अन्य व्यक्तिबाट पनि त्यसरी नै पैसा लिने गरेको पाइएको छ।  ‘देखाउनका लागि मात्रै लेख्ने गरेका छन्, तर पछि दिने गरेका छैनन,’ डिकोडमा पीसीआर परीक्षण गरेका एक अर्का व्यक्तिले भने।

डिकोडले मात्रै होइन, अन्य केही निजी प्रयोगशालाले पनि सरकारले तोकेको भन्दा बढी पैसा लिने गरेको पाइएको छ। काँभ्रेको धुलिखेल अस्पतालले पनि सरकारले तोेकेको भन्दा बढी शुल्क लिएको पाइएको छ। काठमाडौं प्रेसलाई प्राप्त असोज ३ गतेको एक बिलमा चार हजार चार सय रुपैयाँ लिएको पाइएको छ।

त्यस्तै, कीर्तिपुरको स्टार अस्पतालले पनि सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको छ। स्टार अस्पतालले पीसीआर परीक्षण गर्दा तीन हजार आठ सय ९९ रुपैयाँ लिने गरेको छ। काठमाडौं प्रेसलाई प्राप्त असोज ९ गते कोरोना परीक्षण गरेको बिलमा एउटा पीसीआर परीक्षणको तीन हजार आठ सय ९९ रुपैयाँ दर रहेको उल्लेख छ।

स्वास्थ्य मन्त्रालयकै संरक्षणमा निजी प्रयोगशालाहरुले पीसीआर परीक्षणमा लुट मच्चाइरहेका छन्। सरकारले तोकेको भन्दा बढी शुल्क लिँदा पनि स्वास्थ्य मन्त्रालयले वास्ता गरेको छैन।

सरकारी अस्पतालमा कोरोना परीक्षण निःशुल्क रहेको छ। तर, परीक्षणका लागि घन्टौं लाइनमा बस्दा पनि पालो आउने गरेको छैन। जसले गर्दा सर्वसाधारण परीक्षणका लागि निजी प्रयोगशाला पुग्ने गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारी सरकारले निःशुल्क परीक्षण गरिरहेकोले सरकारी प्रयोगशालामा परीक्षण गर्नुपर्ने बताउँछन्। तर, निजी अस्पतालहरुमा कोरोना परीक्षणको लागि जाँदा भने ति अस्पतालले तोकेको रकम तिर्नुपर्ने तर्क गर्छन। ‘सरकारी अस्पतालमा कोरोना परीक्षण तथा उपचार नगराउने र निजी अस्पतालमा गएर परीक्षण र उपचार गराउन चाहनेहरुको हकमा बिरामीले सो अस्पतालको नियम अनुसार नै रकम तिर्नुपर्छ,’ सहप्रवक्ता डा.अधिकारी भन्छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने बढी शुल्क लिने प्रयोगशालालाई कारबाही गर्ने निर्णण गरेको थियो। तर, अहिलेसम्म कसैलाई सचेत समेत गराएको पाइएको छैन।

*डिकाेडले काेराेना पीसीआरकाे तीन हजार नाै सय रुपैयाँ लिएकाे हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ।

प्रकाशित मिति: १५:५३ बजे, बुधबार, असोज १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्