यूएई जाने कामदारलाई अब खर्च नलाग्ने
काठमाडौं, वैशाख १३ : यूएईसँग नयाँ श्रम समझदारी (एमओयू)को समस्यौदामा सहमति भएको छ। बिहीबार सहमति भएसँग अब यूएई जानलाई कामदारले पैसा नतिर्नु पर्ने भएको ....

काठमाडौं, वैशाख १३ : यूएईसँग नयाँ श्रम समझदारी (एमओयू)को समस्यौदामा सहमति भएको छ। बिहीबार सहमति भएसँग अब यूएई जानलाई कामदारले पैसा नतिर्नु पर्ने भएको छ।
दुई दिनदेखि यूएईका श्रम अधिकारीसँग काठमाडौंमा छलफल भएको थियो। छलफलपछि दुवै देशका अधिकारी नयाँ श्रम समझदारीमा सहमत भएका हुन्।
दुवै देशका प्राविधिक टोली सन् २००७ को श्रम समझदारीलाई विस्थापन गर्ने गरी नयाँ एमओयू गर्न सबै विषयमा सहमतिमा पुगेको जनाएको छ।
‘अब दुवै देशको मन्त्रिपरिषद बैठकले यो समझदारीको मस्यौदालाई पारित गरेपछि औपचारिक हस्ताक्षरका लागि मिति तय हुनेछ,’ श्रम मन्त्रालयका एक अधिकारीले भने, ‘शून्य लागतमा कामदार लैजाने र श्रमिकको आर्थिक तथा समाजिक सुरक्षाका सवालमा महत्वपूर्ण सहमति जुटेको छ।’
यूएईसँग यस अघि दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान भएको थियो। पहिलो चरणमा यूएईले पठाएका मस्यौदामा नेपालले चाहेजस्ता विषय उल्लेख नभएकाले नेपाली टोलीले नै यूएई पुगेर आफ्ना एजेन्डा स्पष्टसँग राखेको थियो।
यस अघि नेपालले यूएईसँग गरेको समझदारी कामदारको पूर्ण हितमा थिएन। अब अन्तर्राष्ट्रिय रुपमा स्थापित श्रम अधिकारका सवालहरू राखेर नयाँ समझदारी गर्न सहमति जुटेको हो।
एमओयू गर्दा श्रमिकलाई व्ययभार नपर्ने गरी आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी हुने दावी मन्त्रालयको छ।
अब तत्कालै ओमानसँग पनि समझदारी टुंग्याउने गरी वार्ता हुँदैछ। गोकर्ण बिष्ट श्रममन्त्री भएपछि नेपालले जापान र मलेसियासँग श्रम समझदारी गरिसकेको छ।











