Kathmandu Press

मौसम बिग्रिदा दर्जनौं जहाज काठमाडौंको आकाशमा फन्को मार्दै

काठमाडौं, वैशाख १३ : मौसम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तथा अवतरणमा समस्या आएको छ। जसले गर्दा दर्जनभन्दा बढी जहाज नेपाली आकाशम....

मौसम बिग्रिदा दर्जनौं जहाज काठमाडौंको आकाशमा फन्को मार्दै

काठमाडौं, वैशाख १३ : मौसम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तथा अवतरणमा समस्या आएको छ। जसले गर्दा दर्जनभन्दा बढी जहाज नेपाली आकाशमा फन्को मारिरहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहानैदेखि उडानमा अनियमितता रहेको छ। अवतरण गर्न नसकेपछि कतिपय जहाजलाई अन्यत्र डाइभर्ट गराएको कार्यालयले जनाएको छ। अवतरणको क्रममा रहेका जहाज आकाशमा घुमेका छन् भने बिहानै हुनुपर्ने उडानहरु रद्द गरिएका छन्।

विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार ल्हासाबाट काठमाडौं आउने सिचुवान एयरलाइन्सको उडान रद्द गरिएको छ। त्यस्तै, ग्वाङजाउबाट काठमाडौं आउँदै गरेको चाइना साउथर्न एयरलाइन्सको उडान बंगलादेशको ढाका डाइभर्ट गरिएको छ भने छेन्दुबाट आउने एयर चाइनाको उडान डिले भएको छ।

विमानस्थलमा आन्तरिक र बाह्य गरेर दैनिक तीन सयभन्दा बढी जहाज उडान तथा अतवरण हुने गरेको छ। रात्रीको समयमा धावनमार्ग मर्मत भइरहेकाले पनि विमानस्थलमा दिउसो र बिहान झनै चाप पर्दै आएको छ।

भिजुअल फ्लाइट रुल (भिएफआर) र इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) अनुसार, उडान हुने गर्छ। सामान्य अवस्थामा भीएफआर नियमबाट उडान अवतरण गरिन्छ।

खराब मौसमका कारण भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआर उडान गर्न सकिन्छ। यसका लागि काठमाडौंमा दुई हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ।

काठमाडौंबाहेकका विमानस्थलमा आइएफआर नियमअनुसार उडान–अवतरण गर्न दुई हजारदेखि दुई हजार पाँच सय मिटरसम्मको भिजिबिलिटी आवश्यक पर्छ।

माैसम बिग्रिदा त्रिभुवन विमानस्थलमा दुवै नियमअनुसार उडान तथा अवतरण गर्न सकिएकाे छैन।

प्रकाशित मिति: १२:३४ बजे, शुक्रबार, वैशाख १३, २०७६