भूकम्पपछि अमेरिकामै बस्न नेपाली अप्रवासीले यसरी गर्दैछन् संघर्ष
क्यालिफोर्निया : केशव भट्टराईको काठमाडौंमा दुई बेडरूम भएको घर थियो। परिवार नातागोता सबै मिलेर दशैं मनाउँथे। एकअर्कालाई कथा सुनाउँथे। उनको एउटा पस....
क्यालिफोर्निया : केशव भट्टराईको काठमाडौंमा दुई बेडरूम भएको घर थियो। परिवार नातागोता सबै मिलेर दशैं मनाउँथे। एकअर्कालाई कथा सुनाउँथे। उनको एउटा पसल पनि थियो। कार्यालयका लागि आवश्यक सामग्री बिक्री वितरण गर्थे।
त्यसपछि २०७२ मा विनाशकारी भूकम्प गयो। वैशाख १२ मा ७.८ म्याग्निच्युडको भूकम्पमा परि झण्डै नौ हजारले ज्यान गुमाए। बीस हजारभन्दा धेरै घाइते भए। केशवको घरसहित धेरै घर भत्किए। भूकम्प गएको केही घण्टामै लाखौं मानिससँगै उनको परिवार पनि विस्थापित भयो।
अमेरिकी सरकारको ‘टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस)’ अन्तर्गत ५६ वर्षीय भट्टराईले अमेरिकामा शरण पाए। युद्ध वा प्राकृतिक विपद्को चपेटामा परेका देशका मानिस जो सुरक्षित घर फर्किन सक्दैनन्, टिपिएसले उनीहरूलाई अमेरिकामा बस्न र काम गर्न अनुमति दिएको छ। सुरूमा करिब नौ हजार नेपाली आप्रवासीलाई टिपिएस दिइएको थियो। भट्टराई पनि टिपिएस अन्तर्गत नै नर्दन क्यालिफोर्नियाको सन्निभेलमा बसे। एउटा ग्याँस स्टेसनमा क्यासियरको काम पनि पाए।
यही जुनदेखि नेपाली र होन्डुरसवासीको टिपिएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयले भट्टराईको नयाँ जीवन हल्लायो। फलस्वरूप उनी र अन्यले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीविरूद्ध एक लाखभन्दा धेरै मानिसको टिपिएस गैरकानूनी रूपमा खारेज गर्नबाट रोक्न माग गर्दै फेब्रुअरीमा दर्ता गरिएको मुद्दालाई साथ दिए।
नेपाली समुदायबाट यो नाटकिय प्रतिरोध भएको थियो। ट्रम्पको अध्यागमन नीतिबारे चलिरहेको मुद्दामा नेपाली समुदायले सधैं ‘लो प्रोफाइल’ धारण गरेको थियो।
‘उनीहरू देशनिकाला गरिन्छ भनेर एकदमै डराउँछन्,’ इनेपालिज डट कमकी सम्पादक सच्ची मैनालीले भनिन्,‘उनीहरू निकै आत्तिएका छन् तर खुलेआम देखिदैंन।’
नेपाल र होेन्डुरसका नागरिकको टिपिएस सरकारले खारेज नगर्ने अस्थायी निर्णय गरेपछि मुद्दाका वादी पक्षले थोरै भए पनि राहतको सास फेरे। एल साल्भाडोर, हेटी, निकारागुआ र सुडानका नागरिकको टिपिएस खारेज गर्ने होमल्यान्ड सेक्युरिटीको निर्देशनविरूद्ध बेग्लै मुद्दाको अन्तिम फैसला पर्खिन प्रशासन सहमत भएको छ।
साल्भाडोर र हेटिका नागरिको तुलनामा नेपाली समुदायको संघर्षले सञ्चारमाध्यम र राजनीतिको अत्यन्त कम ध्यानाकर्षण गरेको मैनाली र अन्यले बताए। ‘हामी चुप छौं। अन्य प्रभावशाली एसियाली समूह विपरीत हामी लुकेका छौं,’सेरिटोस बस्ने सिभिल इन्जिनियर ईश्वर गुरूङले भने। टिपिएस सकिने जोखिम बढेपछि उनका एक नातेदार निकै तनावमा छन्। सबैको सुरक्षाका लागि, आवाज उठाउनुपर्छ भन्ने बुझ्नु जरूरी छ। नभए आफ्नो मुद्दामा अरूले बोलिदिने वा सहयोग गर्ने सम्भावना गुम्नेछ।
ईश्वर गुरूङ सोसाइटी अफ साउदर्न क्यालिफोर्नियाका एक संस्थापक हुन्। संस्था नेपालसँग सांस्कृतिक सम्बन्ध कायम राख्न केन्द्रित छ।‘अमेरिकामा भएका विदेशीलाई हटाउने वर्तमान प्रशासनका सदस्यहरूको लक्ष्य भएको’ नेपाल समुदायको विश्वास रहेको उनले बताए।‘धेरै मानिसहरूलाई सुरक्षित रहन र परिवारको पालनपोषण गर्न टिपिएस आवश्यक’ भएको उनले बताए।
अमेरिकामा दुई लाखभन्दा धेरै नेपाली बस्छन्। सबैभन्दा धेरै टेक्सस, न्यूयोर्क र क्यालिफोर्निया छन्। होमल्यान्ड सेक्युरिटीले लाखौं आप्रवासीको टिपिएस खारेज गरेको छ। तीमध्ये धेरैजसो दुई दशक वा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। उनीहरूको देश भने जर्जर अवस्थामा छ। मुद्दाले भट्टराईलाई नेपालबाहिरको जीवन पुनर्निर्माण गर्न केही समय दिएको छ। भूकम्पको प्रभावबाट पुन:स्थापना हुन अझै संघर्ष गरिरहेको छ।
‘म फर्केर जान चाहन्छु तर अहिले होइन,’ उनले भने। नाति-नातिना हुर्किएको हेर्न चाहन्छन्। आफू पनि ‘सुरक्षित तरिकाले’ बुढो हुन चाहन्छन्। उनी भन्छन्,‘अमेरिका यस्तो देश हो जहाँ तपाईंले सहयोगका लागि सजिलै ढोका ढक्ढकाउन सक्नुहुन्छ।’ सानो नेपाली समुदायलाई नै किन लक्षित गरेको भनेर उनी प्रशासनलाई प्रश्न गर्न चाहन्छन्। ‘हामीमध्ये थोरैसँग मात्रै टिपिएस छ,’ उनले भने।
सुरूमा, सन् २०१८ मा पूर्व होमल्यान्ड सेक्युरिटी किस्र्चेन नियल्सनले टिपिएसको औपचारिक समीक्षाले ‘वैशाख २०७२ को भूकम्प र पछि आउने परकम्पले नेपाली जनजीवनमा पारेको बाधा घटेको छ। अब स्थिति सहज बन्दै गएको छ र नेपालले आफ्ना नागरिकको व्यवस्थापन गर्नसक्छ’ भन्ने निष्कर्ष निकालेको बताएकी थिइन्।
क्याथोलिक लिगर इमिग्रेसन नेटवर्क इन्ककी एटोर्नी लिसा परिसियोले नेपालीहरूको ‘बाध्यात्मक अवस्था रहेको’ बताइन्। सन् २०१७ मा आएको बाढीले भूकम्पको समस्या झन् बढाएको उनले बताइन्। बाढीले थप घर बगाएको र देशको सम्पूर्ण दक्षिणी क्षेत्र तहसनहस गरेको उनको तर्क थियो।
भत्किएका सार्वजनिक पूर्वाधार, नागरिक अशान्तिले शिक्षा, खाना र पानी लगायत आधारभूत आवश्यकता र सेवाको पहुँच सिमीत बनाएको नेटवर्कको प्रतिवेदनमा उल्लेख छ। जोखिम वा विपद्बाट भाग्नेहरूलाई आश्रय दिन कंग्रेसले सन् १९९० मा टिपिएस सिर्जना गरेको थियो। ‘अहिले उनीहरूलाई फिर्ता पठाउने समय होइन। उनीहरूको जीवन वा स्वतन्त्रता जोखिममा पर्नसक्छ,’ परिसियोले भनिन्।
अधिकार नामक गैरसरकारी संस्थाकी प्रार्थना गुरूङले प्रचारप्रसारको अभावले टिपिएस विस्तार चुनौतीपूर्ण रहेको बताइन्। ‘कतिलाई त नेपाल देश हो भनेर थाहा पनि छैन,’ उनले भनिन्। अधिकारले सामाजिक न्यायको आन्दोलनमा नेपाली आवाज बुलन्द गर्न सहयोग गरिरहेको छ। न्यूयोर्कस्थित संस्थाले कानूनी क्लिनिक आयोजना गरेको छ। टिपिएसवाहकलाई उनीहरूको अधिकारबारे शिक्षा दिन देशव्यापी अभियान चलाएको छ। संस्थाले स्थायी रूपमा बस्न पाउने अधिकार प्रदान गर्ने कानून निर्माणका लागि पनि जोड दिइरहेका छन्।
संस्थाका कर्मचारीले प्रहरी अधिकारी र अध्यागमनका कर्मचारीबीच फरक छुट्याउन पनि आप्रवासीलाई तालिम दिने गर्दछ। सरकारविरूद्धको मुद्दामा भट्टराईजस्ता वादी पक्षको पहिचान गर्ने समूहमा पनि अधिकार संलग्न थियो। ‘टिपिएसवाहक हाम्रो समुदायका अमुल्य सदस्य हुन्,’ मिञ्जु चोले भनिन्। चो एसियन अमेरिकन्स एडभान्सिङ जस्टिस– लस एञ्जलेस नामक नागरिक अधिकार समूहकी एटोर्नी हुन्। संस्थाले मुद्दा लडिरहेको छ।
चोले भनिन्,‘उनीहरू दशौं हजार अमेरिकी नागरिक बालबालिकाका आमाबाबु हुन्। मानिसरूलाई काम गर्न र परिवारको पालनपोषण गर्न टिपिएस महत्वपूर्ण छ।’ विस्थापितहरूका लागि टिपिएस स्थायी समाधान नभएको आफूले बुझेको भट्टराई बताउँछन्। ‘मैले मात्रै न्यायको आशा गरेको छु,’ उनले भने,‘अनि थप केही समय।’
लस एन्जल्स टाइम्सबाट