Kathmandu Press

हुरीबतास पीडितका घर बनाउन सरकारले सेनालाई दियो झण्डै ८५ करोड रुपैयाँ

काठमाडौं, वैशाख १२ : सरकारले बारा र पर्सामा आएको हुरीबतासले क्षति पुर्‍याएका घर निर्माणका लागि ८४ करोड ६८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।&n....

हुरीबतास पीडितका घर बनाउन सरकारले सेनालाई दियो झण्डै ८५ करोड रुपैयाँ

काठमाडौं, वैशाख १२ : सरकारले बारा र पर्सामा आएको हुरीबतासले क्षति पुर्‍याएका घर निर्माणका लागि ८४ करोड ६८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। 

हालै बसेको मन्त्रिपरिषदको बैठकले बारा र पर्साका विभिन्न क्षेत्रमा हुरीबतासबाट भत्किएका घर निर्माणका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। 

वैशाख ५ र १० गतेको बसेका मन्त्रिपरिषद बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै प्रवक्ता बास्कोटाले बारा र पर्सामा हावाहुरीबाट १४ सय ५३ घर क्षतिग्रस्त भएको पनि बताए। सरकारले यसअघि नै हुरीबतास प्रभावितका घर निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरिसकेको छ। 

गत चैत १७ गते साँझ बारा र पर्साका विभिन्न क्षेत्रमा आएको हुरीबतासमा परी २८ जनाको मृत्यु भएको थियो भने ६ सयभन्दा बढी मानिस घाइते भएका थिए। 
 

प्रकाशित मिति: १९:३४ बजे, बिहीबार, वैशाख १२, २०७६