पुरातात्विक क्षेत्रमा प्रधानमन्त्रीको २५ मिनेट...
काठमाडौं, वैशाख १२ : विसं २०७२ मा यतिखेर देश शोकमग्न अवस्थामा थियो। कति मानिस ऐया र आत्था गर्दै पुरिएका संरचनाभित्र गुहार माग्दै थिए।....

काठमाडौं, वैशाख १२ : विसं २०७२ मा यतिखेर देश शोकमग्न अवस्थामा थियो। कति मानिस ऐया र आत्था गर्दै पुरिएका संरचनाभित्र गुहार माग्दै थिए।
कतिपय जीवनकै अन्तिम क्षणको अनुभूत गर्दै थिए। कतै अलापविलाप, कतै कोही पुरिएका आफन्त निकाल्न कसरत गर्दै थिए। सरकार, सुरक्षा निकाय तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि उद्धार सामग्रीसहित भूकम्पले क्षति पुर्याएका क्षेत्रमा पुगेर उद्धारमा खटिएका थिए तर अहिले त्यो बेलाको चित्कार भुल्दै देश पुनःनिर्माणको महाअभियानमा जुटेको छ।

सरकार पनि भूकम्पबाट लागेको घाउमा मलम लगाउने प्रयासमा जुटिरहेको छ। पुरातात्विक महत्वका संरचना अहिले उठ्ने क्रममा छन्। यस्तैमध्येको एक संरचना काठमाडाैंको त्रिपुरेश्वरमा रहेको ललितत्रिपुरासुन्दरी मन्दिर पनि हो। राजा रणबहादुर शाहकी पाँचाैं श्रीमती ललितत्रिपुरासुन्दरीले उनको स्मृतिमा बनाएको मन्दिर भूकम्पले क्षतविक्षत बनाएको थियो।
पुनःनिर्माणका क्रममा रहेको उक्त मौलिक र पुरातात्विक क्षेत्रको सम्पदा क्षेत्रमा शिल्पकारहरु काठमा विभिन्न आकृतिका बुट्टा कुँद्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली पुगे। बिहान ११ः१० बजे मन्दिर प्रवेश गरेका उनले २५ मिनेट बिताएर त्यहाँको पुनःनिर्माणको अवस्थाबारे जानकारी लिए।
उनलाई काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ मकाजु र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको अवस्थाबारे जानकारी गराए। त्यहाँ कोही मजदूर आरा चलाउँदै थिए, कोही काठमा बुट्टा कुँद्दै थिए भने कोही भित्ता उठाउँदै थिए। अधिकांश क्षेत्रमा आधाआधी काम भइसकेको देखिन्थ्यो।

पुनःनिर्माणले गति लिएकामा प्रधानमन्त्री ओलीको मुहारमा चमक देखिन्थ्यो। कलाकार तथा मजदूरको कामका गतिविधिबारे चाखपूर्वक अवलोकन गर्नुभएका प्रधानमन्त्री ओलीलाई आज नौमती र धिमेबाजा बजाएर स्वागत गरिएको थियो। बिहीबारै प्रधानमन्त्री ओलीले काठमाडौंको भूगोलपार्क र वसन्तपुर क्षेत्रको पुनःनिर्माणको अवस्थाबारेमा समेत स्थलगत निरीक्षण गरेका थिए।
त्यहाँको पुनःनिर्माण परियोजना निर्देशक लोचन रिजालले भने,“प्रधानमन्त्रीले आज अवस्थाबारे निरीक्षण गर्नुभयो, उहाँ अर्काे पटक आउँदा यो पूरा गर्ने हाम्रो प्रतिबद्धता छ।” पुरातात्विक सम्पदालाई विश्वविद्यालयमार्फत अनुसन्धान र प्रयोगमा ल्याई शिक्षा दिने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले पुनःनिर्माणको अगुवाइ गरिरहेको छ।
“मुख्यतः कला सङ्गीतको दिगो विकास गर्ने नै हो, परम्परागत सीप र ज्ञानलाई प्रयोगमा नल्याउने हो भने यसको महत्व हुँदैनन्, समुदायलाई क्याम्पसमा जोड्न मात्रै खोजेको हो”, रिजालले भने। यहाँको क्षेत्र भूकम्प अगाडि दुरुपयोग भएको थियो। अहिले परम्परालाई नमासिने गरी सुन्दर उद्यानसहितको पुनःनिर्माणको काम जारी छ। अहिलेसम्म ३० प्रतिशत निर्माण भएको जनाइएको छ।
पुनःनिर्माणमा बाजा बनाएर कमाएको १९ लाख तथा विश्वविद्यालयको दुई करोड छ भने थाई नागरिकबाट सङ्कलन भएको १७ करोड नेपाल सरकारमार्फत आएको छ। “सरकारलाई ठूलो धन्यवाद किन दिनुपर्छ भने ज्ञान र यहाँको मूर्त संरचनालाई जोडेर नयाँ शिक्षा र सिकाइ दिन खोजिएको छ”, रिजालले भने। झण्डै १५ रोपनी जग्गामा फैलिएको यहाँ नौ रोपनी क्षेत्र शिवको मन्दिर छ।

आकर्षक उद्यानसहितको पुनःनिर्माणको काम पाटन दरबार स्क्वायरको डिजाइन गर्ने कलाकार डा रोहित रञ्जितकारको डिजाइनमा काम भइरहेको छ। प्राधिकरणका अनुसार ७७३ सांस्कृतिक सम्पदामध्ये २२४ पुनःनिर्माणको क्रममा रहेको र २१२ पुरानै अवस्थामा फर्किसकेको छ। रासस











