Kathmandu Press

बैतडीमा फेरि विद्यालय बन्द, नगरपालिका सिल

बैतडी, असोज १२ : कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ। विद्यालय पुनः बन्द...
बैतडीमा फेरि विद्यालय बन्द, नगरपालिका सिल

बैतडी, असोज १२ : कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ। विद्यालय पुनः बन्द गरिएको छ।

नगर उपप्रमुख जानकी ऐर (बम)को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो। त्यस्तै, स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने निर्णय गरेको छ।

नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए। उनका अनुसार सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय गरिएको छ, आवतजावतमा पनि पूर्णरूपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा पनि आउन जान पनि रोक लगाइएको छ।

भारतको बैङ्लोरबाट फर्किएका पुर्चौडी–३ का २९ वर्षीय युवक घर पुग्नै लाग्दा शुक्रबार स्थानीय लामाधारमा मृत फेला परेका थिए। मृत भेटिएका उनको शनिबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका थियो। कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गरी परीक्षण गर्ने निर्णय पनि भएको छ।

६ दिनअघि बैङ्लोरबाट हिँडेका उनी बिहीबार कैलालीको गौरीफण्टा नाकाबाट नेपाल भित्रिएको बताइएको छ।  गौरीफण्टादेखि मृत भेटिएको स्थानसम्म उनको सम्पर्कमा आएका र  उनी  चढेर आएका सवारी साधनका स्टाफ र यात्रुहरुको पनि कोरोना परीक्षण गरिने भएको छ।  

पुर्चौडीमा अहिलेसम्म २० जनामा सङ्क्रमण पुष्टि हुँदा आठ जना अझै सक्रिय सङ्क्रमित छन्।  मृत भेटिएका व्यक्तिमा कोरोना पुष्टि हुँदा गाउँमा त्रास फैलिएको स्थानीय अनिरुद्र जोशीले बताए।

पुर्चौडीका विद्यालयहरु पुनः बन्द भएका छन्। लामो समयदेखि बन्द रहेका विद्यालय असोज ७ गतेदेखि सञ्चालनमा  आएका थिए। विद्यालय पुनः बन्द गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले बताए।

प्रकाशित मिति: १५:५० बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्