वसन्तपुर दरबार क्षेत्रको पुनर्निर्माण धमाधम
काठमाडौं, वैशाख १२: चार वर्षअघिको विनाशकारी भूकम्पले ढलाएको बसन्तपुर दरबार क्षेत्र पुनर्निर्माणको काम धमाधम भइरहेको छ। सबैले खाएपछि खाने मल्ल रा....
काठमाडौं, वैशाख १२: चार वर्षअघिको विनाशकारी भूकम्पले ढलाएको बसन्तपुर दरबार क्षेत्र पुनर्निर्माणको काम धमाधम भइरहेको छ। सबैले खाएपछि खाने मल्ल राजा महिन्द्र मल्लले कसको घरमा धुवाँ आयो कि आएन भनेर हेर्ने भनी प्रख्यात नौतले दरबार छानो हाल्ने चरणमा पुगेको छ।
भूकम्प गएको समयमा ११ः५६ बजे मृतकको स्मृतिमा मौनधारण गर्न वसन्तपुर दरबार क्षेत्र पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दरबार क्षेत्र पुनर्निर्माणको स्थलगत अवलोकन पनि गरे। ऐतिहासिक काष्ठमण्डपमा बाँसको लिस्नोबाट चढेरै प्रधानमन्त्रीले अवलोकन गरे। पत्नी राधिका शाक्यसहित प्रधानमन्त्री ओलीले स्थलगत अवलोकन गर्दा काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीलगायत पनि सँगै थिए।
भूकम्पबाट भत्किएका संरचना पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको वसन्तपूर दरवार स्क्वायर क्षेत्रमा आयोजना गरेको थियो। स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का समयमा मिलेर सामना गर्ने नेपाली संस्कृतिको प्रशंसा गरे। उनले भने, ‘त्यो दिन सम्झिन्छु, त्यस्तो विपदमा कसैलाई उद्दार गर भन्नु परेन। सबैले सबैलाई सहयोग गरे।’
सम्पदा पुनर्निर्माणमा केही ढिलाइ भएपनि प्राधिकरणको कार्यकालभर समय लगाउनै पर्नेबाहेक सबै पुनर्निर्माण सकिने उनले बताए। स्मृति सभापछि प्रधानमन्त्री ओलीले हनुमानढोका दरबार क्षेत्रको पुनर्निर्माणको अवलोकन गरे।
७५३ मध्ये २ सय २४ बने
पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भत्किएका पुरातात्विक महत्वका ३० प्रतिशत सम्पदाको पुनर्निर्माणको काम सकिएको छ। अति प्रभावित १४ जिल्लामा भत्किएका ७ सय ५३ पुरातात्विक एवं सांस्कृतिक सम्पदामध्ये २ सय २४ वटा निर्माण भइसकेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
२ सय २१ वटा सम्पदाको पुनर्निर्माणको काम भइरहेको छ भने बाँकी ३ सय ८ वटाको काम सुरु नै भएको छैन। यीमध्ये भूकम्पले क्षति पुर्याएका रानीपाखेरी, धरहरा, काष्ठमण्डप लगायत काठमाडौं उपत्यकाभित्रका सातवटै विश्व सम्पदा क्षेत्रका सम्पदाहरुको पुनर्निर्माण द्रुत गतिमा भइरहेको प्राधिकरणले जनाएको छ।