Kathmandu Press

भक्तपुरमा सुविधायुक्त आईसोलेसन केन्द्र सञ्चालन

भक्तपुर, असोज ११ : कोरोना भाइरस संक्रमितको उपचारको लागि भक्तपुर नगरपालिकाले सुविधायुक्त आईसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ।भक्तपुरको ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा ७५ शय्याको आइसोलेसन...
भक्तपुरमा सुविधायुक्त आईसोलेसन केन्द्र सञ्चालन

भक्तपुर, असोज ११ : कोरोना भाइरस संक्रमितको उपचारको लागि भक्तपुर नगरपालिकाले सुविधायुक्त आईसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ।

भक्तपुरको ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा ७५ शय्याको आइसोलेसन केन्द्र सञ्चालन गरेको हो। कोरोना संक्रमित बढ्दै गएकाले आइसोलेसन केन्द्र सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

यसअघि संक्रमितहरुलाई खरिपाटीस्थित विद्युत प्राकिरणको तालिम केन्द्र र भक्तपुर अस्पताल पठाउने गरिएको थियो। कोरोना समुदायस्तरमा फैलिएसँगै जनतालाई सहज सेवा उपलब्ध गराउन छुटै आइसोलेसन केन्द्रको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। त्यस्तै, होम आईसोलेसनमा बस्न सम्भव नरहेका संक्रमितहरुलाई आइसोलेसन केन्द्रमा राखिनेछ।

आइसोलेसन केन्द्रको माथिल्लो तल्लामा महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष, पहिलो तल्लामा जोखिम बर्गमा परेकाहरु जस्तै ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती बस्ने व्यवस्था गरिएको छ। यस्तै भुइँ तल्लामा प्रशासनिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बस्ने कक्ष रहेको छ।

आइसोलेसनमा बस्ने संक्रमितहरुको लागि आवश्यक लुगाबाहेक सबै सुविधा नगरपालिकाले नै व्यवस्था गरेको छ। प्रत्येक संक्रमितहरुको लागि अलगअलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जको लागि छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नको लागि किताब, पत्रपत्रिकासहितको ¥याकलगायतको व्यवस्था गरिएको छ।

आइसोलेसन केन्द्रमा हरेक दिन तीन जना नर्सको नियमित ड्युटीको व्यवस्था गरिएको छ। प्रत्येक दिन बिहान एक र बेलुकी एक गरी दुई जना डाक्टरहरुले संक्रमितलाई हेर्नेछन्। केन्द्रमा प्रशासनिक, सरसफाइ र स्वास्थ्यकर्मी गरी १० जनाकर्मचारीहरु व्यवस्था गरिएको छ।

संक्रमितहरुलाई सूचना प्रवाहको लागि माइकिङ र अलगअलग फोनको व्यवस्था आइसोलेसन केन्द्रमा छ। साथै संक्रमितहरुको लागि छुटै थर्मोमिटर, पल्स अक्सिमिटर र पीपी सेटको बन्दोबस्त रहेको छ भने दैनिक चार छाक खाना खाजा खुवाइने व्यवस्था पनि गरिएको नगरपालिकाले जनाएको छ।

यसबाहेक संक्रमितका लागि आवश्यक परेको खण्डमा अक्सिजनको पनि व्यवस्था गरिएको छ। आईसोलेसन केन्द्रमा रहेका बिरामीहरुको स्वास्थ्यमा समस्या आएमा चिकित्सकको सल्लाह अनुसार नगरपालिकाको डेडिकेटेड एम्बुलेन्समार्फत भक्तपुर अस्पतालमा उपचारको लागि पठाउने व्यवस्था समेत गरिएको छ।

आईसोलेसनमा कार्यरत कर्मचारीहरुका लागि पनि नगरपालिकाले छुट्टै व्यवस्था गरेको छ। सात दिनको ड्युटी सकिने बितिक्कै उनीहरुलाई एक हप्ताको लागि अलग क्वारेन्टिनमा राखेर कोरोना परीक्षणपश्चात ड्युटीमा खटाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: १८:२८ बजे, आइतबार, असोज ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्