Kathmandu Press

सडक र रेलमार्गका लागि यातायात मन्त्रालयले माग्यो एक खर्ब रूपैयाँ

काठमाडौ, वैशाख १२ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक निर्माण र रेलमार्ग विस्तारका लागि भन्दै ९५ अर्ब रुपैयाँ माग गरेको छ। भौतिक मन्त्र....

सडक र रेलमार्गका लागि यातायात मन्त्रालयले माग्यो एक खर्ब रूपैयाँ

काठमाडौ, वैशाख १२ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक निर्माण र रेलमार्ग विस्तारका लागि भन्दै ९५ अर्ब रुपैयाँ माग गरेको छ। भौतिक मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६-७७ को बजेटमा १५ आयोजनाका लागि ९५ अर्ब रुपैयाँ माग गरेको हो। 

चालु आर्थिक वर्षमा १५ आयोजनाका लागि ६२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। विनियोजना भएपनि अधिकांश आयोजनाको रकम खर्च हुन सकेको छैन। भौतिक मन्त्रालयले आगामी आर्थिक वर्षका लागि हुलाकी राजमार्गमा १५ अर्ब रुपैयाँ माग गरेको छ। चालु आर्थिक वर्षमा हुलाकी राजमार्गका लागि ५ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो।

यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि १२ अर्ब ५० करोड रुपैयाँ माग गरिएको छ। चालु आर्थिक वर्षमा लोकमार्गका लागि ५ अर्ब ५५ करोड रुपैयाँ विनियोजना गरिएको थियो। रेल, मेट्रो रेल तथा मोनोरेलका लागि ७ अर्ब ५० करोड रुपैयाँ मन्त्रालयले मागेको छ। चालु आर्थिक वर्षमा ४ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो।

नागढुंगा सुरुङ मार्गका लागि पनि ७ अर्ब २९ करोड रुपैयाँ माग गरिएको छ। यो मार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा  ६ अर्ब ४४ करोड रुपैयाँ विनियोजन भएको थियो। भौतिक मन्त्रालयले मदन भण्डारी राजमार्गका लागि ५ अर्ब ५० करोड रुपैयाँ माग गरेको छ।  चालु आर्थिक वर्षमा ४ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो।

काठमाडौं–तराई द्रूत मार्गका लागि २० अर्ब रुपैयाँ माग गरेको छ। चालु आर्थिक वर्षका लागि पनि १५ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको थियो। 

यस्तो छ भौतिक पूर्वाधार मन्त्रालयको माग 


 

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, वैशाख १२, २०७६