Kathmandu Press

पुनर्निर्माणमा खटिएका ४ हजार इञ्जिनियरले दिए सामूहिक राजीनामा 

काठमाडौं, वैशाख १२ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका करिब चार हजार प्राविधिकहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन्।

राष्ट्रिय पुनर....

पुनर्निर्माणमा खटिएका ४ हजार इञ्जिनियरले दिए सामूहिक राजीनामा 

काठमाडौं, वैशाख १२ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका करिब चार हजार प्राविधिकहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी बिहीबारदेखि नै लागू हुने गरी राजीनामाको घोषणा गरेको हो। आफूहरुले अघि सारेका मागप्रति सरकार संवेदनशील नभएकाले बाध्य भएर सामूहिक राजीनामा दिएको समितिको जनाएको छ। 

समितिले गत चैत ३ गतेबाट देशव्यापी चरणबद्ध आन्दोलन गर्दै आएको थियो। तर, सरकारले चरणबद्ध आन्दोलन गर्दापनि जायज मागप्रति कुनै सुनुवाई भएको र उल्टै आफूहरुलाई सेवा सुविधाबाट बञ्चित गराएकाले बाध्य भएर सामूहिक राजीनामा दिनु परेको समितिका अध्यक्ष इञ्जिनियर अविनाश अमरले बताए।

समितका अध्यक्ष अमरले भने,‘सरकारले हामीलाई अन्यायमा पारेको कारणले हामी चरणबद्ध आन्दोलनमा थियौं। तर, धैर्यताको बाँध भत्किएकाले आजैको मितिबाट लागू हुने गरी हामी ३२ जिल्लाका सम्पूर्ण प्राविधिकहरुले सामूहिक राजीनामा घोषणा गरेका छौं।’ सरकारले आफूहरुका माग सुनुवाई नगरेसम्म काममा नफर्किनेसमेत उनले स्पष्ट पारे। नेपालको इतिहासमै प्राविधिक जगतको सबैभन्दा ठूलो सडक संघर्षसमेत चैत १० गते काठमाडौंमा भएको समितिको भनाइ छ। 

समितिले आफूहरुले खाइपाई आएको प्रोत्साहन भत्ता, भौगोलिक भत्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्ने लगायतका विभिन्न ५ बुँदे माग राख्दै आएको थियो। 

यसअघि चैत १२ गते नेपाल इञ्जिनियर्स एशोसिएसनको मध्यस्थतामा प्राधिकरण र आफूहरुबीच सहमति भएर एक साताभित्र सबै माग पूरा गराउने प्रतिबद्धतासहित काममा फर्किएपनि सरकारले उक्त सहमति उल्लंघन गरेको पनि समितिको आरोप छ। 

प्रकाशित मिति: १६:४२ बजे, बिहीबार, वैशाख १२, २०७६