सीमाको रक्षा सरकारले एक्लैले मात्रै गर्न सक्दैन : गृहमन्त्री थापा
दार्चुला, असोज १० : गृहमन्त्री रामबहादुर थापाले सीमाको रक्षा सरकारले मात्रै गर्न नसक्ने बताएका छन्। शनिबार दार्चुलाको सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा उनले सीमा...
दार्चुला, असोज १० : गृहमन्त्री रामबहादुर थापाले सीमाको रक्षा सरकारले मात्रै गर्न नसक्ने बताएका छन्।
शनिबार दार्चुलाको सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा उनले सीमा सुरक्षा सरकारले मात्रै गर्न नसक्ने भएकाले सीमा क्षेत्रका नागरिकले पनि साथ दिनु पर्ने बताएका हुन्। ‘सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन्,’उनले भने।
गृहमन्त्री थापाले सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुनसक्ने बताए। ‘सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय बासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिन्छ,’ उनले भने।
दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको बताए।
गृहमन्त्री थापाले सीमा क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने बताए।
गृहमन्त्री थापासँग व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायत सहभागी थिए।











