सप्तरीमा अदालतले दोषी ठहर गरेका ३१ जना एकैदिन पक्राउ
राजविराज, असोज १० : जिल्ला अदालतको फैसलापछि फरार रहेका ३१ जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ। एक दिनअघि त्यस्ता १४ जना पक्राउ परेका...
राजविराज, असोज १० : जिल्ला अदालतको फैसलापछि फरार रहेका ३१ जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ।
एक दिनअघि त्यस्ता १४ जना पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार जिल्ला अदालतको फैसलापछि फरार रहेका हनुमाननगर कंकालिनी नगरपालिका–५ का ५५ वर्षीय कुशेश्वर भन्ने खुसहर महतो ३२ वर्षपछि पक्राउ परेका छन्।
उनीविरुद्ध दर्ता भएको कुटपिट मुद्दामा विसं २०४५ मङ्सिर २७ गते अदालतले फैसला सुनाएको थियो। सोही दिनदेखि फरार भएका उनलाई प्रहरी टोलीले घरबाटै पक्राउ गरेको प्रनाउ भारतीले जानकारी दिए।
यसैगरी, अदालतको अपहेलना मुद्दामा २८ वर्षदेखि फरार रहेका तिलाठी कोइलाडी गाउँपालिका–१ का ४० वर्षीय दुर्गानन्द यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालतको विसं २०४९ माघ १५ गतेको फैसलापछि यादव फरार थिए । कुटपिट मुद्दामा साढे २२ वर्षपछि तिरहुत गाउँपालिका–१ का ५५ वर्षीय रामजी मरिक यादव पक्राउ परेका छन्। अदालतले उनीविरुद्ध २०५४ चैत २६ गते फैसला सुनाएको थियो।
अदालतको फैसलापछि फरार रहेका ३१ जनामध्ये कुटपिट मुद्दाका १३, लुटपाटका तीन, कुटपिट र लुटपाट मुद्दाका तीन, केही सार्वजनिक अपराध मुद्दाको तीन, वनको दुई जना पक्राउ परेका छन्। यसैगरी कर्तव्य ज्यान, अपहरण, डाँका, बहुविवाह, अदालतको अपहेलना, गाली बेइज्जती र सवारी ज्यान मुद्दाका एक÷एक फरार अभियुक्त पक्राउ परेका छन्।
कुटपिट मुद्दामा राजविराज नगरपालिका–६ का समिरकुमार चौधरी, राजविराज–९ का बिजल नौनिया, राजविराज–१५ का जयनारायण यादव, कञ्चनपुर नगरपालिका–७ का गोवद्र्धन महतो, तिलाठी कोइलाडी–१ का चन्द्रकिशोर मण्डल, आनन्दलाल मण्डल, रवीन्द्र मण्डल, खैरुल कुजर्नी, मो अकबर, रोशन खातुन र तिलाठी कोइलाडी–५ का नागो रायसमेत पक्राउ परेको प्रहरीले जनाएको छ।
लुटपाटमा तिलाठी कोइलाडी–२ का धनीलाल खङ्ग, तारादेवी खङ्ग, सतनीदेवी खङ्ग, कुटपिट÷लुटपाट मुद्दामा राजविराज –१ का आनन्द झा, ललन झा, पिताम्बर झा तथा केही सार्वजनिक अपराध मुद्दामा राजविराज–११ का अवोध राम, राजविराज–१५ का दिलीपकुमार यादव र होमेन्द्र यादव रहेका छन्।
यस्तै वन मुद्दामा राजविराज –६ का किरण थापा मगर र अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का भोला सदा पक्राउ परेका हुन्। कर्तव्य ज्यान मुद्दामा तिलाठी कोइलाडी गाउँपालिका–८ का हरिनारायण खङ्ग, अपहरणमा राजविराज–१५ देउरी भरुवाका राजेश भनिने राजनारायण यादव, डाँका मुद्दामा राजविराज–६ का प्रदीपकुमार चौधरी, बहुविवाह मुद्दामा छिन्नमस्ता गाउँपालिका–३ का रामकुमार साह पक्राउ परेका छन्।
अदालतको अवहेलना मुद्दामा तिलाठी कोइलाडी–१ का दुर्गानन्द यादव, गाली बेइज्जतीमा तिलाठी कोइलाडी–१ का सुमित्रादेवी यादव र सवारी ज्यानमा सप्तकोशी नगरपालिका–४ का भोला सरदार पनि पक्राउ परेको प्रहरीले जनाएको छ। अदालतको फैसला कार्यान्वयन गराउने क्रममा घरमै लुकिछिपी बसेका उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइने प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिए।
एक दिनअघि मात्र प्रहरीले कुटपिट, लुटपाट, कुटपिट अङ्गभङ्ग, जालसाजी, केही सार्वजनिक अपराध र ज्यान मार्ने उद्योग मुद्दामा १४ फरार अभियुक्तलाई पक्राउ गरेर अदालतमा बुझाएको थियो। रासस








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
