Kathmandu Press

खुला रहेन खुला मञ्च

काठमाडौं, वैशाख ११ :  नेपाली राजनीतिक आन्दोलनको इतिहाससँग जोडिएको खुल्लामञ्च अब सर्वसाधारणका लागि खुला रहेन। विशेष गरी ०४६ सालमा पञ्चायतको अन्त्य....

खुला रहेन खुला मञ्च
रमेश पाेख्रेल

काठमाडौं, वैशाख ११ :  नेपाली राजनीतिक आन्दोलनको इतिहाससँग जोडिएको खुल्लामञ्च अब सर्वसाधारणका लागि खुला रहेन। विशेष गरी ०४६ सालमा पञ्चायतको अन्त्य भएर बहुदलीय व्यवस्था पुन:स्थापनापछि राजनीतिक मञ्चका रूपमा यसको पहिचान बनेको थियो।

जनआन्दोलनको सफलताको भोलिपल्ट ०४६ साल चैत २७ गते यो खुलामञ्चलाई विजयसभाबाटै घोषणा गरिएको थियो– सहिद मञ्च। कांग्रेस नेता भीमसेनदास प्रधानले भने,‘त्यो सहिदमञ्च मासेर अब व्यापार मञ्च बनाइएको छ।’

प्रधानका अनुसार खुल्लामञ्चको निर्माण राजा महेन्द्रकै पालामा भएको हो। विकासका नाममा खुल्लामञ्चको मासिएकोमा दुःख मान्छन्– यसको इतिहाससँग जोडिएकाहरू। ०४६ सालको आन्दोलनमा गणेशमान सिंह नजिक रहेर काम गरेका काँग्रेस नेता भीमसेनदास प्रधान सहिद मञ्चको कथा सुनाउँछन्,‘दरबारमार्गस्थित राजा महेन्द्रको सालिकछेउमै झडप हुँदा गोली चल्यो। बिरामी गणेशमान सिंह वीर अस्पतालमा उपचार गराइरहेका थिए।

चैत २७ गते आन्दोलनको सफलतापछि यहीँ विजयोत्सव मनाइयो। त्यहीँ आमसभा गरेर सहिद मञ्च घोषणा गरिएको थियो। त्यस्तो ऐतिहासिक स्थलमा महानगरपालिकाले मनोमानी गर्‍यो।’  अहिले खुल्लामञ्चमा सर्वसाधारणको सहज पहुँच छैन। ताल्चा लगाएर राखिएको छ खुलामञ्च क्षेत्र। त्यसको एक भागमा बसपार्क बनाइएको छ।

खुलामञ्चमा छेवैको गुठीको जग्गामा रहेको पुरानो बसपार्क सारेर काठमाडौँ महानगरपालिकाले एक निजी कम्पनीसँगलाई ‘भ्यु टावर’ निर्माणको जिम्मा दिएपछि बसपार्क खुल्लामञ्च पसेको हो। खुल्ला मञ्चभित्र बसपार्कको छेउमा सटर हालेर स्टल बनाइएको छ। वीर अस्पतालको पार्किङ पनि त्यहीँ छ। विद्युत प्राधिकरणले पनि खुल्लामञ्चको केही भाग प्रयोग गरेको छ।

प्रकाशित मिति: १६:५७ बजे, बुधबार, वैशाख ११, २०७६