नेकपाको केन्द्र र जिल्ला कमिटीको अधिवेशन छिट्टै हुन्छः प्रचण्ड
काठमाडौं, वैशाख ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको ....
काठमाडौं, वैशाख ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन्।
महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले चाँडै कमिटी पूर्ण हुने बताए। उनले यो वर्ष पार्टीको सङ्गठन सुदृढीकरण र शुद्धीकरणको हिसावले महत्वपूर्ण काम हुने बताए।
प्रचण्डले सरकार गठन भएको पहिलो एक वर्षमा कानून निर्माण, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध र भौतिक पूर्वाधार निर्माणको शुरुआतको हिसाबले महत्वपूर्ण भएको र सकारात्मक कामको शुरुआत भएको बताए। ‘हामीले निर्वाचनको समयमा गरेको सङ्कल्पअनुसार नै विकासको काम शुरु भएको छ र त्यसरी नै अघि बढ्नेछ,’उनले भने।
उनले पछिल्ला वर्षमा सामुदायिक विद्यालयमा सुधारको सङ्केत देखिन थालेको बताए। पहिले निजी विद्यालयमा भन्दा सामुदायिकमा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अनुशासनमा कमजोर भए पनि अहिले ती पक्षमा सुधार भएर निजीसँग प्रतिस्पर्धा गर्न सक्ने भएको उनले प्रष्ट पारे।
लामो समयदेखि नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने खालको भए पनि अहिले रोजगारी सिर्जना गर्ने शिक्षालाई सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो। उनले भने,‘सामुदायिक विद्यालयहरु यसरी नै सुधार हुँदै जाने हो भने केही वर्षभित्र सबै नेपालीका छोराछोरी सामुदायिकमै केन्द्रित हुनेछन्।’






