रेलसेट आएपछि सर्वसाधारण उत्साहित
महोत्तरी, असोज ७ : “अई बेर विवाहपञ्चमीतक रेल चल्वे करत” (यसपालि त विवाहपञ्चमीसम्म रेल चल्छ) भङ्गाहा नगरपालिका–३ कटैया बस्तीकी रामराजी यादवले पूरै विश्वासका साथ...महोत्तरी, असोज ७ : “अई बेर विवाहपञ्चमीतक रेल चल्वे करत” (यसपालि त विवाहपञ्चमीसम्म रेल चल्छ) भङ्गाहा नगरपालिका–३ कटैया बस्तीकी रामराजी यादवले पूरै विश्वासका साथ भने, “मेला देख कुर्था सऽ जनकपुर रेल चैढ्क जायब” (विवाहपञ्चमी मेला हेर्न कुर्था, महोत्तरी–धनुषा सीमा नजिकको नयाँ रेल स्टेशन) बाट जनकपुर रेल चढेरै जाउँला।” यही असोज २ गते रेलसेट (इञ्जिन र डिब्बासहित रेल) जनकपुर आइपुगेपछि कुर्था नजिकको महोत्तरीका बस्तीमा अहिले अब चाँडै रेल चढ्न पाइने कुराले उत्साह बढेको हो।
बर्दिवास–जनकपुर–जयनगर रेल्वे परियोजनाको ६९ किलोमिटर दूरीमध्ये कुर्थादेखि जयनगरसम्मको लिक निर्माण गत वर्ष नै सम्पन्न भए पनि रेलसेट नहुँदा सेवा सञ्चालन हुन सकेको थिएन। यसपालि लाग्दो असोजमै भारतबाट किनिएर रेलसेट आएपछि कुर्था नजिकका यहाँका बस्तीमा मङ्सिर शुक्ल पञ्चमीमा आयोजना हुने रामजानकी विवाह महोत्सव (विवाहपञ्चमी मेला) रेल चढेर जनकपुर पुग्न पाइने सर्वसाधारणमा आशा र विश्वास बढेको हो।
महोत्तरीका लोहारपट्टी, बलवा र भङ्गाहा नगरपालिकाका बस्ती कुर्थासँगै जोडिएका छन्। दुई दशकअघिसम्म जयनगर–जनकपुर–बिजलपुरा चल्ने रेलमा यात्रा गरेको सम्झने यस भेगका सर्वसाधारण अब ठूलो रेल (ब्रोडगेजलाई बोलीचालीमा ठूलो भनिएको) आएको भन्दै हौसिएका छन्।
विसं २०५९ अघि जयनगर–जनकपुर–बिजलपुरा चल्ने रेलको महोत्तरीमा पिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुरा स्टेशन थिए। जहाँबाट रेल चढेर यस भेगका बासिन्दा बजारु र धार्मिक प्रयोजनका कामले जनकपुर र जयनगरसम्म आवतजावत गर्थे । विसं २०५९ को बर्खे भेलले हालको लोहारपट्टी नगरपालिकाको बिगही पुल भत्काएपछि त्यतिखेरको रेल सेवा बन्द भएको थियो।
अहिले त्यतिखेरको सानो लिकको ठाउँमा ब्रोडगेज लिक बनेको छ। यद्यपी कुर्थाबाट पिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुरा स्टेशनसम्मको लिक ओछ्याउने काम निर्माणकै चरणमा छ। यसपाली अब दुई महिनाभित्र कुर्था–जयनगर खण्डको ३४ किलोमीटर दूरीभित्र सेवा सञ्चालन हुने र चालु आर्थिक वर्ष (२०७७-७८) भित्रै बिजलपुरासम्म सेवा सञ्चालन गरिने गरी काम भइरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए।
“हामीकहाँ दुईवटा रेल आइपुगेका छन्, रेल सञ्चालनका लागि आवश्यक जनशक्तिको माग हामीले (विज्ञापन) गरिसकेका छौँ”, महाप्रबन्धक भट्टराईले भने, “यो प्रक्रिया पूरा हुनासाथ प्रथम खण्ड (कुर्थाबाट जयनगर) मा रेल सञ्चालन भइहाल्छ।” दोस्रो खण्ड कुर्थाबाट बिजलपुरा स्टेशनसम्मको १७ किमीमा यसै आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न हुने र तेस्रो खण्ड (बिजलपुरादेखि बर्दिवास) को १८ किमी दूरीमा जग्गा मुआब्जा टुङ्ग्याएर निर्माण काम थालिने भट्टराईको विश्वास छ।
अहिले रेलसेट आइपुगे पनि जनशक्ति व्यवस्थापन, कोभिड–१९ जोखिमले रोकिएको नेपाल–भारत सीमा आवतजावत खुला गर्ने र रेललिक बरबुझारथका काम बाँकी रहेका हुँदा सेवा सञ्चालनमा केही महिना लाग्नसक्ने नेपाल रेल्वे कम्पनी लिमिटेडले स्पष्ट पारेको छ। रेल सञ्चालनका लागि अहिले तत्काल प्राविधिक जनशक्ति भारतबाटै ल्याउने र अन्य कर्मचारी व्यवस्थापनका लागि करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढिसकेको महाप्रबन्धक भट्टराईले जानकारी दिए।
अहिले कुर्थाबाट भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालन हुने गरी ल्याइएको रेलसेट परीक्षणपश्चात जयनगरस्थित नेपाल रेल्वे स्टेशनमा पार्किङ गरिएको कम्पनीले जनाएको छ। आफ्नो क्षेत्रमा अब चाँडै रेल सेवा सञ्चालन हुने कुराले यस भेगका किसान आफ्नो उत्पादनले बजार पाउने आशमा छन्। दूध, कृषि उपज र मासुका लागि पालिने पशुपक्षी रेल चलेपछि भारतकै सीमावर्ती बजारसम्म दैनिकजसो लान पाइने यस भेगका किसानको विश्वास छ।
सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारतकै रु सात अर्ब २० करोड अनुदान सहयोगमा थालिएको जयनगर–जनकपुर–बर्दिवास रेल्वे स्तरोन्नतिको काम सन् २०१९ मै सकिनुपर्ने तालिका थियो। यद्यपी यसबीचका आन्दोलन (मधेश आन्दोलन), प्राकृतिक विपत्ति (भूकम्प र बाढी) र जग्गा मुआब्जा प्रक्रिया नटुङ्गिँदा परियोजना सम्पन्न गर्न ढिलाइ भएको रेल विभागले स्वीकार गरेको छ। रासस