Kathmandu Press

मनसुन पुनः सक्रिय, पाँच दिन देशभर वर्षा हुने

काठमाडौं, असोज ६ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको  छ। उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम...
मनसुन पुनः सक्रिय, पाँच दिन देशभर वर्षा हुने

काठमाडौं, असोज ६ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको  छ। 

उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन नेपालको धेरै स्थानमा वर्षा हुनाका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले अबको केही समय पुनः मनसुन सक्रिय हुने बताए।

वर्षा र बदली गराउने न्यूनचापीय प्रणाली नेपालमा अझै चार-पाँच दिन रहने भएकाले मनसुन पनि ढिलो बाहिरिने मौसमविद्को अनुमान  छ। त्यस्तै बढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन असोज १० गतेसम्म देशभरका नदीमा बहाव उच्च हुने पूर्वानुमान  गरेको छ।

पानीको सतह सतर्कताको चिह्नभन्दा तलै हुने भए पनि सामान्यावस्थाबाट एक्कासि बढ्ने सम्भावना रहेकाले सम्भावित क्षतिबाट जोगिन असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा गर्नुपरेमा उच्च सतर्कतासाथ गर्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

हाल देशका प्रदेश १, २ र वाग्मती प्रदेशमा पूर्ण बदली र अन्य प्रदेशमा सामान्य बदली रहेको छ। साथै वाग्मती  र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा र गण्डकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य र अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस  छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव २ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव ३ डिग्री सेल्सियस  छ। रासस

प्रकाशित मिति: ०१:४५ बजे, बुधबार, असोज ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्