अनशनरत डा. गोविन्द केसी काठमाडौंमा, विमानस्थलबाटै प्रहरीले लग्यो ट्रमा सेन्टर
आठ दिन जुम्लाकाे धर्मशालामा सत्याग्रहमा बसेका डा. गोविन्द केसी काठमाडौं फर्किएका छन्। प्रहरीले उनलाई शिक्षण अस्पताल जान नदिएर त्रिभुवन विमानस्थलबाटै राष्ट्रिय ट्रमा सेन्टर लगेको छ। डा. केसी ट्रमा सेन्टरमै सत्याग्रह जारी राख्ने भएका छन्।
काठमाडौं, असोज ६ : आठ दिन जुम्लामा सत्याग्रहमा बसेका डा. गोविन्द केसी आज काठमाडौं पुगेका छन्। उनले त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर लगेको छ।
स्वास्थ्य सेवा सुधारको माग गर्दै डा. केसी भदौ २९ गतेदेखि अनशनमा छन्। उनले जुम्लाको चन्दननाथ नगरपालिकास्थित बाबिरा मन्दिरको धर्मशालामा अनशन सुरु गरेका थिए।
उनलाई असोज ३ गते राति स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला सारिएको थियो। त्यहाँबाट पन िबलजफ्ती काठमाडौं ल्याउने तयारी भएपछि हिंसा हुनसक्ने भन्दै आफै काठमाडौं आएका हुन्।
सोमबार साँझ नेपालगन्ज पुगेका डा.केसीलाई स्थानीय प्रशासनले भेरी अस्पतालमा राखेको थियो। आज बिहान ११ः३० बजे नेपालगन्जबाट काठमाडौं आएका हुन्।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर लगेको हो। उनले त्रिवि शिक्षण अस्पताल जान खोजेका थिए। शिक्षण अस्पतालबाटै उनी गत वर्ष अवकास लिएका थिए।
प्रहरीले बलजफ्ती ट्रमा सेन्टर लगेको उनका सहयोगी प्रितम सुवेदीले बताए। डा. केसीले ट्रमा सेन्टरमै सत्याग्रह जारी राख्ने बताएका छन्।
आज उनको सत्याग्रहको नवौं दिन हो। उनको स्वास्थ्य कमजोर हुँदै गएको छ भने शरीरमा चिनीको मात्र पनि न्यून भएको भेरी अस्पतालका चिकित्सकले बताएका छन्।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

