जब अनुगनम समिति आउने थाहा पाएपछि तरकारी व्यापारीको भागाभाग मच्चियो...
काठमाडौं, असोज ५ : महानगरको अनुगमन टोली आउने खबर पाएपछि नक्सालका तरकारी व्यापारी किशोर पासवान पसल छोडेर भागे। सोमबार बिहान महानगरको उपभोक्ता हित संरक्षण...
काठमाडौं, असोज ५ : महानगरको अनुगमन टोली आउने खबर पाएपछि नक्सालका तरकारी व्यापारी किशोर पासवान पसल छोडेर भागे।
सोमबार बिहान महानगरको उपभोक्ता हित संरक्षण समितिका पदाधिकारी नक्साल तरकारी बजारको अनुगन गरेको थियो। अनुगमन टोली आउने थाहा पाएका पासवान पसल छाडेर भागेका हुन्।
लामो समय कुर्दा पनि व्यापारी नआएपछि सोधपुछका क्रममा उनी भागेको पत्ता लाग्यो।
तरकारीको भाउ र बजारका जानकारी लिने क्रममा एकैछिनपछि अर्को सूचना आयो। पसल नम्बर ४०४१ का शिवलाल शाह पनि पसल छोडेर भागे। यो देखिरहेका नजिकैका अर्का व्यापारीले प्रति किलो ६० रुपैयाँमा प्याज बेच्न थाले। उनकोमा बाँकी भएको करीब २० किलो प्याज एक छिनमै रित्तियो।
अन्य तरकारी बजारमाजस्तै नक्साल तरकारी बजारमा पनि खरिद बिक्री बिल र दर्ताको मुख्य समस्या देखियो। बजारमा तोफु (भटमासबाट बनेको खाद्यबस्तु) बिक्री गर्ने मिश्र स्वाँर भन्दै थिए, ‘यसको म्याद त सुँघेर थाहा हुन्छ। किन्नेले सुँघेरै किन्ने हुन्।’ तोफु प्लाष्टिकको बाटामा पानी हालेर खुल्ला रुपमा बेच्न राखिएको थियो। त्यसमा कुनै खालको लेवल राखिएको थिएन।
नक्सालमा सोमबार बिहानै बा १८ च ९९०१ नम्बरको सवारी साधनले प्याकेजिङ् गरिएको चाउमिन बितरण गर्दै थियो। वितरित चाउमिनमा उत्पादन र उपभोग्य मिति केरमेट भेटिएपछि सामानसहितको सवारी नियन्त्रणमा लिइयो।
यस्तै ज्ञानेश्वरमा रहेको कुमारी मिल र मनोरमा ज्ञानेश्वर फ्लोर एण्ड राइस मिलमा लेवल नभएका सबै खाद्यबस्तु बिक्रीमा रोक लगाइएको छ। मिलबाट सामान कहिले उत्पादन गरिएको हो? खाद्य बस्तु उत्पादन गर्न ल्याइएको कच्चा पदार्थको उपभोग्य मिति के थियो? एकिन नभएपछि सामान बिक्रीमा रोक लगाइएको हो। यी मिलहरुमा बाहिरबाट ल्याएको अन्नलाई कुटाइ गरेर बिक्री वितरण हुँदै आएको छ।
महानगरको कृषि विभागको नेतृत्वमा भएको अनुगमनमा पशु सेवा विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधि सहभागी थिए।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

