पोखरीमा डुबेका दुई छोरीलाई बचाउँन खोज्दा आमाको पनि मृत्यु
मोरङ, असोज ५ : माछा पाल्ने पोखरीमा डुबेर मोरङका दुई बालिकासहित आमाको पनि मृत्यु भएको छ।मोरङको ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी,...
मोरङ, असोज ५ : माछा पाल्ने पोखरीमा डुबेर मोरङका दुई बालिकासहित आमाको पनि मृत्यु भएको छ।
मोरङको ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उनका दुई छोरीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार १३ वर्षीया पबित्रा र नौ वर्षीया कृतिका पोखरीमा डुबेका थिए।
उनीहरुलाई उद्धार गर्न गएकी सीताको पनि डुबेर मृत्यु भएको बेलबारी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर ऋषिराज ढकालले बताए।
पवित्रा र कृतिका आइतबार दिउँसो माछा पाल्ने पोखरीमा गएका थिए। नुहाउन गएका छोरीहरु डुबेको देखेपछि उद्धार गर्न सीता पनि पोखरीमा गएकी थिइन्। पोखरी गहिरो भएकाले छोरीहरुको उद्धार गर्ने क्रममा आमाको पनि मृत्यु भएको इन्स्पेक्टर ढकालले बताए।
स्थानीय वासिन्दाका अनुसार सीता माछालाई चारो हाल्न गएकी थिइन्। उनीसँगै गएका छोरीहरु नुहाउनका लागि पोखरीमा पसेका थिए। गहिरो र हिलो भएकाले दुवै जना बालिका डुबेका थिए। त्यसपछि उनीहरुलाई निकाल्न गएकी सीता पनि डुबेकी हुन्।
उनीहरु साँझसम्म घर नफर्केपछि खोजबिन भएको थियो। पोखरीको डिलमा दुबै बालिकाका कपडा देखिपछि पोखरीमा खोजी गरिएको थियो। तीनै जनाको शव भेटिएको इन्स्पेक्टर ढकालले बताए।
तीनै जनाको शव पोस्टमार्टका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको छ। घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

