Kathmandu Press

पटक पटक निर्वाचन जितेर अवसर नपाएकालाई मन्त्री बनाउन सुझाव

काठमाडौं, असोज ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्दा  निर्वाचन जितेर पनि मौका नपाएकाहरुलाई अवसर दिनुपर्ने माग उठेको छ।...
पटक पटक निर्वाचन जितेर अवसर नपाएकालाई मन्त्री बनाउन सुझाव

काठमाडौं, असोज ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्दा  निर्वाचन जितेर पनि मौका नपाएकाहरुलाई अवसर दिनुपर्ने माग उठेको छ।  सचिवालय बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालले पटक पटक निर्वाचन जितेर पनि अवसर नपाएकाहरुलाई प्राथामिकतामा राख्नुपर्ने सुझाव बैठकमा पेश गरेका हुन्। 

सोमबार बसेको सचिवालय बैठकमा सबै भूगोल, जातजातिको प्रतिनिधित्व हुने गरी योग्यताको समेत मूल्यांकन गरेर जिम्मेवारी दिनुपर्ने नेताहरुको सुझाव थियो। 

हालको मन्त्रिपरिषद्‍ वृहत रुपमा पुनर्गठन हुनुपर्ने सुझाव वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा दिएका थिए। ‘सही स्थानमा सही नेतृत्वको अवधारणालाई आत्मासाथ गर्दै अहिलेको मन्त्रिपरिषद् पुनर्गठन हुनुपर्छ एक दुई जना मात्रै फिर्ता ल्याएर नयाँ अनुहार पठाउने काम नगरौँ मानिसको योयता र क्षमताको मूल्याङ्कन गर्दै जिम्मेवारी प्रदान गरौँ,’ नेपालले बैठकमा भनेका थिए।

यस्तै वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा योगदान पुर्याएका र क्षमता भएर पनि अवसर नपाएकाहरुलाई यसपटक छुटाउन नहुने सुझाव आफूले बैठकमा राखेको जानकारी दिएका छन्। ‘मन्त्रिपरिषद्को पुनर्गठन गर्दा सबै क्षेत्रको प्रतिनिधित्व हुनुपर्छ पटक पटक निर्वाचन जितेर पनि अवसर नपाएकाहरुलाई समेटिनुपर्छ भन्ने सुझाव मैले दिएको छु, ’ उनले काठमाडौंप्रेससँग भने।

नेकपामा २०४८ सालदेखि हालसम्म भएका संसदीय निर्वाचनमा चारपटक निर्वाचित भएर मन्त्री हुन नपाएको संख्या चार छ। यस्तै दुईपटक सांसद बनेर मन्त्री हुन नपाएका नेताहरु करिब एक दर्जन रहेका छन्। यस्तै स्थायी कमिटीमा प्रतिनिधित्व गर्ने चार जना पनि मन्त्री हुन पाएका छैनन्।

सामान्य मापदण्डका विषयमा छलफल भएपपनि बैठकमा व्यक्तिका विषयमा छलफल नभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उपाध्यक्ष बामदेव गौतम र उनी स्वंयमका बारेमा छलफल भए नभएको प्रश्नबारे उनले भने, ‘बामदेव गौतमलाई मन्त्री बनाउने विषयमा बैठकमा छलफल भएन मेरो विषयमा बैठकमा त के मनमासमेत छलफल भएको छैन।’

मन्त्रिपरिषद् पुनर्गठनका सवालमा नेकपा अध्यक्षद्वयको दुई थरी मत छ। अध्यक्ष ओली हाल खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने पक्षमा छन् भने अध्यक्ष प्रचण्ड अन्यलाई समेत फिर्ता बोलाउनुपर्ने पक्षमा छन्। पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनका लागि मन्त्रालय विभाजनसमेत गर्नुपर्ने परिस्थित रहेको छ। कुन मन्त्रालय विभाजन गराउने भन्ने विषयमा पनि सचिवालय बैठकमले प्रधानमन्त्री ओलीलाई सुझाव दिने तयारी गरेको छ। 

सोमबारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले तीन विकल्प अघि सारेका छन्। उनले सबै मन्त्रीलाई हटाएर विस्तार गर्ने, अढाइ वर्षदेखि मन्त्रीमा कायम रहेकाहरुलाई हटाउने र केहीलाई निरन्तरता दिँदै केहीलाई हटाउने प्रस्ताव अघि सारेका हुन्। प्रधानमन्त्रीको प्रस्तावमा टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले बैठकमा भने ‘कार्यसम्पादन मुल्यांकनका आधारमा केहीलाई राखेर नयाँ अनुहारलाई ल्याउनु उत्तम हुन्छ।’

सचिवालयमार्फत मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मापदण्ड तयार गरेर स्थायी कमिटीबाट मापदण्ड अनुमोदन गराउने नेकपाको तयारी छ। मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डलाई मूर्तरुप दिनका निम्ती नेकपाको सचिवालयले सोमबार पनि छलफल गर्ने भएको छ। सोमबार १ बजे सचिवालयको बैठक बस्ने तय गरिएको छ।

प्रकाशित मिति: २२:३६ बजे, आइतबार, असोज ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्