Kathmandu Press

पाँच वर्षदेखि निर्माणाधिन पक्की पुल अलपत्र

डडेल्धुरा, असोज ४ : डडेल्धुराको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा अलपत्र अवस्थामा रहेको छ। गन्यापधुरा–३ सकायलदेखि नवदुर्गा गाउँपालिका–३ डाँडावन...
पाँच वर्षदेखि निर्माणाधिन पक्की पुल अलपत्र

डडेल्धुरा, असोज ४ : डडेल्धुराको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा अलपत्र अवस्थामा रहेको छ। गन्यापधुरा–३ सकायलदेखि नवदुर्गा गाउँपालिका–३ डाँडावन जोड्न सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल विसं २०७२ देखि अलपत्र अवस्थामा रहेको हो।

दुई करोड ५० लाखको लागत रहेको पुलको निर्माण दुई वर्षभित्र सम्पन्न गरिसक्ने गरी डडेल्धुरा जिल्लाकै राजेन्द्र निर्माण कम्पनी र चाँदनी निर्माण कम्पनीको जेभीसँग २०७२ मा सम्झौता भएको थियो। तर, सम्झौता भएको पाँच वर्ष पुग्दासम्म पनि तीन प्रतिशतमात्रै काम भएको छ। पुल निर्माण सम्पन्न गर्ने अवधि सकिएको तीन वर्ष भएको छ तर खोलाका दुवैपट्टि अपुरा पिलर राखेर पुल अलपत्र अवस्थामा छ।

बर्सातको समयमा खोलामा पानीको बहाव अत्यधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहरदोहर गर्न समस्या भएको स्थानीय सुरेन्द्र देउवाले बताए। निर्माण कम्पनीसँग पुल निर्माणका लागि पटकपटक आग्रह गर्दासमेत बेवास्ता गर्दा जोखिमपूर्णरूपमा खोला वारपार गर्नुपरिरहेको उनले बताए।

समयमै पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको र पुल निर्माणको काम अगाडि बढाउन निर्माण कम्पनी र सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पटकपटक आग्रह गर्दा पनि निर्माण हुन नसकेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले बताए।

काम सम्पन्न गर्नका लागि छ महिनाको म्याद थप भएकाले यो अवधि सकिँदा पनि काम सम्पन्न नगरेमा निर्माण कम्पनीलाई कारवाही गरिने सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ। यता पुल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी लोकेन्द्र गुरुङले स्टिमेट रिभाइज भएकाले काममा ढिलाइ भएको बताए। निर्माण व्यवसायी गुरुङले तत्काल काम सुरु गरी सडक डिभिजन कार्यालयले थप गरेको म्यादमा काम सम्पन्न हुने बताए। (रासस)

प्रकाशित मिति: १६:४१ बजे, आइतबार, असोज ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्