एसियाका ६ देश, जहाँ अझै राजतन्त्र छ
पूर्वी र दक्षिणपूर्वी एसियाका ६ देशमा राजतन्त्र छ। तर, शाही राजनीतिक शक्ति र सान्दर्भिकता भिन्न छन्। बीसौं शताब्दीसम्म एसियाको अधिकांश क्षेत्रमा राजतन्त्र थियो। ....
पूर्वी र दक्षिणपूर्वी एसियाका ६ देशमा राजतन्त्र छ। तर, शाही राजनीतिक शक्ति र सान्दर्भिकता भिन्न छन्। बीसौं शताब्दीसम्म एसियाको अधिकांश क्षेत्रमा राजतन्त्र थियो। आन्दोलनको लहर र उपनिवेशवादको अन्त्यपछि अहिले मुठ्ठीभर शाही परिवारमात्रै बाँकी छन्।
हालैका वर्षमा केही राजतन्त्र लोकप्रिय भए। राजनीतिक उथल–पुथलबीच थाइल्यान्डका स्वर्गीय राजा भुमिबोलराष्ट्रिय एकताका प्रतिक बने। लामो समय शासन गरेका राजा भूमिबोललाई थाइल्याण्डवासी निकै सम्मान दिन्छन्।
जापान
विश्वकै पुरानो राजतन्त्र जापानमा छ। जापानी राजतन्त्रको वंशज कम्तिमा पनि एक हजार पाँच सय वर्ष अघिसम्म पहिल्याउन सकिन्छ। दोस्रो विश्वयुद्धको अन्त्यतिर जापानको संविधान संशोधन भयो। यसले जापानी सम्राटको शक्ति खोस्यो। जापानका सम्राट हाल पूर्णतया प्रतिनिधिमूलक र ‘सेरेमोनियल’ छन्।
वर्तमान सम्राट अकिहितो अप्रिल ३० मा गद्दी त्याग्ने योजनामा छन्। दुई शताब्दीपछि आफूखुशी गद्दी त्याग्ने उनी पहिलो जापानी सम्राट हुनेछन्। लगत्तै छोरा तथा युवराज नारूहितो सम्राट बन्नेछन्। राजनीतिक शक्ति नभएको प्रतिकात्मक पदवी भएपनि सम्राट अकिहितो धेरै जापानीमाझ लोकप्रिय छन्।
सम्राट अकिहितो तीन दशकदेखि राजगद्दीमा विराजमान छन्। उनी शान्तिवादी विचार राख्छन् र आधुनिक भूमिकालाई राज्यको प्रतिक मान्दछन्। उनको बुवा हिरोहितोसहित अघिल्ला सम्राटलाई ईश्वरको स्वरूप मानिन्थ्यो।
क्याम्बोडिया
क्याम्बोडियामा वंशजको आधारमा राजतन्त्र हुँदैन। राजनीतिक र धार्मिक प्रतिनिधिले बनेको एउटा परिषद्ले क्याम्बोडियाको राजालाई शासकको रूपमा निर्वाचित गर्दछ। क्याम्बोडियामा तीस वर्ष पुरानो दुईवटा शाही घराना छन्। सन् १९९३ देखि यी दुई शाही घरानाबाटै नयाँ राजा निर्वाचित हुँदै आएका छन्। यसरी निर्वाचित हुने राजाले आजीवन शासन गर्न पाउँछन्।
वर्तमान राजा नोरोदोम सिहामोनी सन् २००४ मा निर्वाचित भएका हुन्। खराब स्वास्थ्यका कारण उनका बुवा राजा नोरोदोम सिहानुकले गद्दी त्यागेका थिए। क्याम्बोडियाका राजा पनि जापानी सम्राटजस्तै प्रतिकात्मक हुन्छन्। यद्यपि, वर्तमान राजाका बुवा जीवनकालमा थुपै्र राजनीतिक पदमा थिए। उनी १९५० को दशकमा देशको प्रधानमन्त्री बनेका थिए। ख्मेर रूज शासनको पहिलो वर्ष उनी राष्ट्रपति पनि बनेका थिए।
थाइल्याण्ड
राजा भुमिबोल अडुल्याडेको मृत्युपछि सन् २०१६ माराजा माहा वजिरालोङकोर्न राज्य प्रमुख बनेका हुन्। राजा भुमिबोलउनका पिता थिए।
राजा भुमिबोलले ७० वर्ष शासन गरे। सबैभन्दा लामो समय शासन चलाएका जीवित राजाको उपाधी उनकै नाममा थियो। थाइल्याण्डका जनता उनलाई धेरै माया गर्थे। उनको मृत्युपछि एक वर्षसम्म शोक मनाउने घोषणा गरियो। अक्टोबर २०१७ मा भव्य समारोहबीच बैंककमा उनको शाही अन्त्येष्टि भयो।
उनको छोराको औपचारिक राज्यारोहण शोक अवधिसम्मलाई स्थगित गरियो। आगामी मे महिनामा उनको राज्याभिषेक गरिने अपेक्षा गरिएको छ। सन् २०१४ मा सेनाले शासन कब्जा जमाएपछि भर्खर मार्चमा थाइल्याण्डको आमनिर्वाचन पनि सम्पन्न भएको छ। थाइल्याण्डको राजासँग विधानलाई भिटो र अपराधीलाई माफी दिने अधिकार छ। विश्वकै कठोर ‘लेज माजिस्टी’ कानून थाइल्याण्डको राजालाई लागू हुन्छ। जसअनुसार राजतन्त्रको मर्यादा उल्लंघन गरे तीनदेखि १५ वर्षसम्मको कैदसजाय हुन्छ।
थाइल्याण्डको राजतन्त्र राजनीतिक रूपमा तटस्थ छ। गत फेब्रुअरीमा राजा वाजिलोङकोर्नले दिदी तथा राजकुमारी उबोलरताना माहिदोललाई निवार्चनमा उठ्नबाट निषेध गरे। सन् १९७० ताका अमेरिकी नागरिकसँग विवाह गरेपछि उबोलरतानाले शाही पदवी त्यागेकी थिइन्।
मलेसिया
मुस्लिम बाहुल्य भएको देश मलेसियामा संवैधानिक राजतन्त्र छ। यहाँ राजतन्त्रको विशिष्ट व्यवस्था छ। ९ राज्यका सुल्तान आलोपालो गर्दै प्रत्येक पाँच वर्षका लागि राजा बन्दछन्। वर्तमान राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह जनवरीमा राजा बनेका हुन्। उनी अघिका सुल्तान मुहम्मद पाँचौंले दुई वर्षमै गद्दी त्यागेका थिए।
राजगद्दी त्याग्नुको कुनै कारण खुलाइएन। तर, यसरी कार्यकाल पूरा हुनुअघि नै सुल्तानले गद्दी त्यागेको यो पहिलो घटना थियो। मलेसियाको राजा वा याङ दि पेर्तुआन आगोङ राष्ट्र प्रमुख हुन्छन्। इस्लामको सुरक्षा उनको जिम्मेवारी भए पनि यथार्थमा थोरै शक्ति मात्रै हुन्छ।
सन् १९८१ देखि २००३ सम्म पहिलो कार्यकालमा देशका वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मदले संविधानमा दुई वटा संशोधन गरे। यसले राजतन्त्रको शक्ति सीमित गर्यो। सन् १९८३ को संशोधनले विधानलाई भिटो दिने सुल्तानको अधिकार हटायो र सन् १९९३ मा अभियोगबाट सुरक्षा पाउने अधिकार पनि हटाइयो।
ब्रुनाइ
ब्रुनाइमा पूर्ण राजतन्त्र छ। ब्रुनाइका सुल्तान नै राष्ट्र प्रमुख र सरकार प्रमुख हुन्छन्। सन् १९६७ मा गद्दीआरोहण गरेका सुल्तान हसनल बोल्कियाहले देशको नेतृत्व गरिरहेका छन्। सन् १९८४ मा संयुक्त अधिराज्यको उपनिवेशबाट स्वतन्त्र भएपछि उनले नै शासन चलाउँदै आएका छन्।
सन् २०१४ मा सुल्तानले शरीया कानून लागू गरे। यसले अन्तर्राष्ट्रिय जगतमा सुल्तानको निन्दा र आलोचना भयो। शरीया कानून अनुसार अपराधीलाई कोर्रा लगाइन्छ, हातखुट्टा काटिन्छ र ढुंगाले हिर्काएर मारिन्छ। सन् २०११ मा फोब्र्सले सुल्तानको सम्पत्ति २० अर्ब अमेरिकी डलर अनुमान गरेको थियो। जुलाइमा उनले गद्दी आरोहण गरेको स्वर्ण जयन्ती मनाइयो। झकिझकाउ शोभा यात्रा, २१ बन्दुकको सलामी र सुनौलो छानो भएको उनको दरबारमा भव्य समारोह आयोजना गरियो।
भुटान
सन् २००८ मा नयाँ संविधान जारी हुनुअघि यो सानो हिमाली राज्यमा पूर्ण राजतन्त्र थियो। शाही परिवारले देशको राजनीतिक जीवनमा अभैm पनि महत्वपूर्ण भूमिका खेल्छन्। यद्यपि, डुक ग्याल्पो अर्थात् राजाले आफ्नो केही शक्ति देशको संसदलाई हस्तान्तरण गरेका छन्। संसद्को सबै सिट राजतन्त्र समर्थक दुई पार्टीसँग छ। जिग्मे खेसर नाम्ग्याल वाङचुक भुटानका वर्तमान शासक हुन्। उनका पिता बुवा जिग्मे सिङगे वाङचुकले सन् २००६ मा गद्दी त्यागेका थिए।