Kathmandu Press

सरकार संविधानको भावना विपरीतका गतिविधिमा संलग्न भयो : देउवा

काठमाडौं, असोज ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार संविधानको भावना विपरीतका गतिविधिमा संलग्न...
सरकार संविधानको भावना विपरीतका गतिविधिमा संलग्न भयो : देउवा

काठमाडौं, असोज ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार संविधानको भावना विपरीतका गतिविधिमा संलग्न हुन थालेको बताएका छन्।

संविधान दिवसका अवसरमा शनिबार शुभकामना दिँदै सभापति देउवाले संविधानको सफल कार्यान्वयनका लागि अग्रसर हुने भन्दा संविधानको भावना विपरीतका गतिविधिमा लागेको बताएका हुन्। ‘संविधानको सफलताका लागि बांकी कार्यभारहरु पूरा गर्ने भन्दा संविधानको भावना विपरीतका गतिविधि नेकपाको नेतृत्वमा रहेकोे सरकारबाट भइरहेको छ। यसलाई मैले गम्भीरतापूर्वक लिएको छु,’ उनले भनेका छन्। 

सभापति देउवाले लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न प्रधानमन्त्री र उनको दल नेकपालाई अपील गरेका छन्। यस्तै, सभापति देउवाले प्रधानमन्त्रीको कार्यालयमा शक्ति केन्द्रित गर्ने कार्य, संविधानको भावना विपरीतका विधेयकहरु, प्रेस स्वतन्त्रता कुन्ठित गर्ने नियत र व्यवहार, प्रदेश र स्थानीय सरकारहरुलाई अधिकार, कर्मचारी र बजेट विनियोजनमा गरिएका विभेदहरु, संवैधानिक अंगहरुको गरिमा अन्त्य गर्ने ढंगले गरिएका व्यवहारहरु, फरक विचार राख्ने या विरोध गर्नेप्रति जाइलाग्न प्रस्तुत असहिष्णु अभिव्यक्ति लगायतका सरकारका गतिविधिले मुलुकलाई नवीन जटिलतातर्फ लैजान सक्ने औंल्याएका छन्।

संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने देउवाको विश्वास छ। ‘संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावना अनुरुपको व्यवहार जरुरी हुन्छ,’ उनले भनेका छन्।
 

प्रकाशित मिति: १४:४८ बजे, शनिबार, असोज ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्