म्याग्दीमा स्क्रब टाइफस र डेंगुको संक्रमण बढ्दै
गलेश्वर, असोज २ : कोरोना भाइरस संक्रमणको त्राससँगै म्याग्दीमा स्क्रब टाइफस र डेंगुको संक्रमण फैलँदै गएको छ। जिल्लामा हालसम्म ३८ जनामा स्क्रब टाइफस र...
गलेश्वर, असोज २ : कोरोना भाइरस संक्रमणको त्राससँगै म्याग्दीमा स्क्रब टाइफस र डेंगुको संक्रमण फैलँदै गएको छ।
जिल्लामा हालसम्म ३८ जनामा स्क्रब टाइफस र ७४ जनामा डेंगुको संक्रमण देखिएको हो। सबैभन्दा बढी मङ्गला गाउँपालिकाकामा ३० जनामा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। यसैगरी रघुगङ्गामा ६, अन्नपूर्णमा चार, मालिकामा तीन र धवलागिरी गाउँपालिकामा दुई तथा बेनी नगरपालिकामा २९ जनामा डेंगको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताए।
उनले जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणको समस्या देखिएपछि बिरामीको नमूना संकलन गरेर थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा डेंगु नै पुष्टि भएको जानकारी दिए।
जीउ दुख्नु, उच्च ज्वरो आउनु, आँखाका गेडी दुख्नु, मांसपेशी तथा हाडजोर्नी दुख्नु, झाडापखाला लाग्नु र वान्ता आउनु डेंगुका लक्षण हुन्। डेंगु भाइरसले संक्रमित लामखुट्टेले टोकेको तीन देखि १० दिनभित्र शरीरमा यसको लक्षण देखिन सक्छ। बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले भने, ‘सरसफाइमा ध्यान दिने, लामखुट्टेको बासस्थान र लामखुट्टेको लार्भा नष्ट गर्नु नै डेंगुबाट जोगिने प्रमुख उपाय हो।’
बढ्दो गर्मी तथा पानी परेपछि म्याग्दीमा डेंगु रोगका बिरामीहरु बढ्दै गएका हुन्। डेंगु संक्रमित बढेपछि यो जिल्ला उच्च जोखिममा परेको छ। एडिज एजिप्टाई नामक पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगु रोग सार्ने गर्दछ। यसबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुरिदिने, धेरै भीडभाडमा नजाने, सुत्ने बेलाको समयमा झुलको प्रयोग गर्ने र समुदायस्तरमा सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने डा. घिमिरेको भनाइ छ।








![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)


