अन्तिम समयमा खरिदकर्ताको चाप, बुलिस यात्रा सुरू भएको हो?
काठमाडौं, वैशाख १० : अन्तिम समयमा खरिदकर्ताको चापले गर्दा बजार मंगलबार बढेर बन्द भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३....
काठमाडौं, वैशाख १० : अन्तिम समयमा खरिदकर्ताको चापले गर्दा बजार मंगलबार बढेर बन्द भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३ दशमलव ७४ ले वृद्धि भएर १२६० दशमलव ६८ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ३० प्रतिशतको वृद्धि देखिएको छ।
आज दोस्रो बजार १२५६ दशमलव ९४ को विन्दुमा खुलेको थियो भने १२६८ दशमलव ३० को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२४८ दशमलव ५० थियो। आज दिनभर ६१ करोड ४१ लाख बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने घटेको छ।
आजको बजारको अवस्था :
आज सर्वाधिक कारोबार हुने :
आज सबैभन्दा धेरै छिमेक लघुवित्तको शेयर किनबेच भएको छ। छिमेक लघुवित्त को ४ करोड ९६ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने :
आज एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ८९ प्रतिशतले कमाए भने र घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीले सर्वाधिक ४ दशमलव ७९ प्रतिशतले गुमाए।
भोलिका प्रमुख गतिविधि
नेपाल एग्रो लघुवित्तको आइपीओमा आवेदन दिने भोलि आन्तिम दिन रहेको छ।
मूल्य समायोजन गतिविधि
सिभिल बैंकको १० दशमलव २५ प्रतिशत बोनस शेयर प्रयोजनार्थ मूल्य समायोजन भएको छ।
प्राविधिक विश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो। वैैशाख १० गते बजार १२६० दशमलब ६८ विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा ० दशमलव ३० प्रतिशतले वृद्धि हो। आजको मैनबत्तीले पनि स्पिनिङ्ग टपको आकृति बनाएको छ। यसले बढ्दो बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरेपनि अर्को दिनको मैनबत्तीलाई पुनः हेर्नु पर्ने हुन्छ। आज नेप्सेको प्रवृत्ति सामान्य देखिन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, दुई दिनको बजारको उतारचडाव हेर्न ५ मिनेट समयावधि मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजारको सामान्य टेवा १२४६ मा रहेको थियो। आज पनि यही टेवा क्षेत्रबाट बजार पुनः केही सकारात्मक देखिएको छ भने १२६० को प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ।
आज बजारको उच्च विन्दुहरु घट्दो प्रवृत्तिमा रहेकाले बजारमा क्रेताहरुको चाप कम रहेको संकेत गरेको छ। हिजो र आजको नेप्सेको प्रवृत्ति हेर्दा बजार प्रवृत्तिहीन रहेको छ। बजार प्रवृत्तिहीनज रहेकाले २१ र ५० समायवधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६५ दशमलव ६९ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार सकारात्मक क्षेत्रमा रहेको जनाएको छ। स्टोकास्टिक अक्सिलेटरले आज कारोबारको अन्तिम समयमा शेयर बढी खरिद भएको संकेत गरेपनि बजार सच्चिने संकेत भने दिएको देखिँदैन।
निष्कर्ष : दैनिक मैनबत्ती प्रवृत्तिले बजार अझै पनि सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। ५ मिनेट मैनबत्ती प्रवृत्तिले बजार हाल प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। माथि उल्लेखित नेप्से प्रवृत्ति र सूचकहरुको आधारमा बजार हाल सामान्य प्रतिरोध क्षेत्रमा रहेको र यदि बजार १२६२ भन्दा माथि स्थिर रहन सके बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन मुख्य प्रतिरोध १२८० मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२४६ भन्दा तल रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ।