Kathmandu Press

६ महिनापछि आजबाट लामो दुरीका सवारी सञ्चालनमा 

काठमाडौँ, असोज १ : कोभिड १९ को महामारीले ६ महिनादेखि बन्द रहेका लामोदुरीमा सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् ।सरकारले चैत्र ११ गतेदेखि सुरू...
६ महिनापछि आजबाट लामो दुरीका सवारी सञ्चालनमा 

काठमाडौँ, असोज १ : कोभिड १९ को महामारीले ६ महिनादेखि बन्द रहेका लामोदुरीमा सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् ।

सरकारले चैत्र ११ गतेदेखि सुरू गरेको लकडाउन साउन ६ मा खुला गरे पनि सरकारले अन्तर जिल्ला सार्वजनिक सवारी साधन चल्न दिएको थिएन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै खाले सार्वजनिक यातायात आजदेखि खुला गर्ने निर्णय गरेसँगै (लामो, मध्यम तथा छोटो दूरी) सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आएका हुन् ।

आज विश्वकर्मा दिवस समेत भएकाले ग्यारेज तथा गाडीमा विश्वकर्मा पूजा गरेर गाडी सञ्चालनमा आएका छन् । यातायात व्यवसायीले बसपार्कमा सामूहिक रूपमा विश्वकर्मा पूजासमेत गर्दैछन् । कतिपयले भने व्यक्तिगतरूपमा नै पूजा गरेर छोटो तथा मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका छन् ।

सवारी साधनमा सिट क्षमताको आधा मात्रै यात्रु रहनु पर्ने व्यवस्था गरिएको छ । त्यसबापत व्यवसायीलाई सामान्य अवस्थाको तुलनामा दोब्बरसम्म भाडा लिन पाउने अनुमति दिइएको छ । यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ । यातायात व्यवसायीले पनि गाडीलाई स्यानिटाइज गर्नुपर्ने तथा ढोकामा नै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने नियम लगाइएको छ ।चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ ।

देशभर सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आए पनि काठमाडौँ उपत्यकामा भने महामारीको जोखिम बढ्दै गएकाले जोरबिजोर प्रणालीमा मात्रै सञ्चालनको अनुमति दिइएको छ । यस्तै आन्तरिक हवाई उडान पनि आजबाटै सुचारु गर्ने निर्णय भएपनि वायु सेवा सञ्चालक संघले भने पूर्ण क्षमतामा यात्रु राखेर सेवा दिन नपाएसम्म उडान नगर्ने अडान राखेका छन् ।

कोरोना भाइरसको महामारीले आर्थिक गतिविधि चलायमान हुन नसकेका बेला सिट क्षमताका ५० प्रतिशत मात्रै यात्रु राख्दा भाडा महंगो हुने र यात्रुले बेहोर्न नसक्ने भएकाले उडान सुरू गर्नुको औचित्य नभएको उनीहरूको ठहर छ ।

प्रकाशित मिति: ०७:०८ बजे, बिहीबार, असोज १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्