Kathmandu Press

भारतले नेपाललाई दियो दुई हजार थान रेम्डेसिभिर

काठमाडौं, भदौ ३० : भारत सरकारले नेपाल सरकारलाई गम्भीर अवस्थाका कोभिड–१९ का सङ्क्रमितको उपचारका निम्ति आवश्यक पर्ने ‘रेम्डेसिभिर’ प्रदान गरेको छ।नेपालका लागि भारतका...
भारतले नेपाललाई दियो दुई हजार थान रेम्डेसिभिर

काठमाडौं, भदौ ३० : भारत सरकारले नेपाल सरकारलाई गम्भीर अवस्थाका कोभिड–१९ का सङ्क्रमितको उपचारका निम्ति आवश्यक पर्ने ‘रेम्डेसिभिर’ प्रदान गरेको छ।

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई मंगलबार दुई हजार थान रेम्डेसिभिर उपहारस्वरुप हस्तान्तरण गरेका हुन्।

कोभिड–१९को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामान गर्न भारत सरकारले रेम्डेसिभिर उपलब्ध गराएकामा भारत सरकारप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री ज्ञवालीले उक्त महामारीबाट भारत स्वयम् प्रभावित भएको अवस्थामा सहयोग प्राप्त हुनु दुई देशबीच भरपर्दो मैत्रीको प्रतीक भएको बताए।

विश्वका वैज्ञानिकहरू कोभिड–१९ विरुद्धको खोप विकास गर्न लागिपरेका तर त्यसले कहिले मूर्तरुप लिन्छ भन्ने यकिन भइनसकको वर्तमान परिप्रेक्ष्यमा प्राप्त रेम्डेसिभिर अमूल्य जीवन जोगाउन सहयोगी हुने विश्वास उनले व्यक्त गरे। उनले नेपालको सामाजिक–आर्थिक विकासमा भारतबाट निरन्तररुपमा प्राप्त सहयोगको सराहना गरे।

कोभिड–१९ विरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रमाझ सुदृढ एकता र सहकार्यलाई जोड दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत चैतमा गरेको अप्रत्यक्ष सम्मेलनको स्मरण गर्दै मन्त्री ज्ञवालीले भारतसँग सहकार्य र साझेदारी गर्न नेपाल सधै तत्पर रहेको बताए। 

राजदूत क्वात्राले कोभिड–१९ विरुद्धको लडाइँमा भारत सरकारले आफ्नो क्षमताले भ्याएसम्म हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो देशको ‘छिमेक पहिले’ नीतिअनुरुप थोरै भएपनि नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताए।  महामारीका कारण भारतको मात्र नभई संसारभरका राष्ट्रहरूको अर्थतन्त्र नराम्ररी प्रभावित भएको असहज अवस्थामा पनि भारत–नेपाल सहयोगका परियोजना निर्वाध सञ्चालन भइरहेका बताउँदै उनले आपूर्तिको चक्रमा कुनै किसिमको अवरोध नरहेको जानकारी दिए।

नेपालबाट भारत प्रस्थान गर्नेहरूलाई पनि सहजरुपमा आउजाउको व्यवस्था मिलाइएको बताउँदै राजदूत क्वात्राले भने, “दुवै देशका जनता एकआपसमा हातेमालो गरेर अघि बढिरहेका छन्।” चिकित्सा क्षेत्रका जानकारहरूका अनुसार ‘अक्सिजन थेरापी’मा रहेका सङ्क्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग गरिन्छ। यसको उपयोगबाट बिरामीलाई शीघ्र स्वास्थ्यलाभ गर्न मद्दत पुग्छ। रासस

प्रकाशित मिति: १७:११ बजे, मंगलबार, भदौ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्