Kathmandu Press

आमासँगै एक महिने शिशुलाई पनि कोरोना संक्रमण

हेटौडा, भदौ ३० : मकवानपुरमा आमासँगै एक महिने शिशुलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ की एक ३६ वर्षीया आमालाई कोरोना...
आमासँगै एक महिने शिशुलाई पनि कोरोना संक्रमण

हेटौडा, भदौ ३० : मकवानपुरमा आमासँगै एक महिने शिशुलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ की एक ३६ वर्षीया आमालाई कोरोना संक्रमण देखिएको थियो। त्यसपछि उनको परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो।

हेटौडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा शिशुलाई कोरोना संक्रमण देखिएको हेटौडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले बताए। उनका अनुसार आज आएको रिपोर्टमा शिशुलाई मात्रै कोरोना देखिएको हो।

परिवारका अन्य सदस्यमा भने संक्रमण देखिएको छैन। आमा र शिशु भने होम आइसोलेसनमै बसिरहेको उनले बताए।

उनलाई सुत्केरीको समयमा अस्पतालबाटै कोरोना संक्रमण भएको अनुमान गरिएको छ। आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरुमा कोरोनाको लक्षण नदिएको आइसोलेसन इन्चार्ज चौलागाईले बताए। स्वास्थ्य टोलीले उनीहरुको निगरानी गरिरहेको जनाएको छ।

योसँगै मंगलबार मकवानपुरमा १६ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै मकवानपुरमा कोरोना संक्रमित हुनेको संख्या एक हजार ६९ पुगेको छ। कोरोनाबाट अहिलेसम्म ११ जनाको मृत्यु भएको छ।

 

प्रकाशित मिति: १२:५२ बजे, मंगलबार, भदौ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्