राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमाडौं, भदौ २९ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदबीच शिष्टाचार भेटवार्ता भएको छ।आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि...
काठमाडौं, भदौ २९ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदबीच शिष्टाचार भेटवार्ता भएको छ।
आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि भएको अध्यक्ष तिमिल्सिनासँग भएको भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको थियो। भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत जावेदलाई बधाई दिँदै आगामी दिनमा थप सफलताको कामना गरेका थिए।
नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि निकट र आत्मीय सम्बन्ध रहँदै आएको तिमिल्सिनाले बताए। उनले दक्षिण एसियाली क्षेत्रीय संगठन, संयुक्त राष्ट्रसंघ, अन्तर-व्यवस्थापिका संघ लगायतका संस्थामा दुई देश एकै ठाउँमा रहेकाले सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका थिए। उनले क्षेत्रीय संगठन सार्कका सदस्य राष्ट्रले अहिलेको चुनौती सामना गर्न सहकार्य गर्न जरुरी रहेको बताए।
भेटमा राजदूत जावेदले दुई देशको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहेको बताउँदै नेपालमा रहँदा सरकार र जनस्तरसम्म नजिकबाट सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए।
उनले पाकिस्तान दक्षिण एसियाली देशको सहकार्य, स्थायित्व, शान्ति र समृद्धिको पक्ष रहेको बताए। दुई देशका सांसदबीचको सहकार्य बढाउनुपर्ने बताउँदै राजदूत जावेदले संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनु पर्ने बताएका थिए।











