Kathmandu Press

अस्पतालै पिच्छे पीसीआर रिपोर्ट फरक, रोग पत्ता नलाग्दै बिरामी भेन्टिलेटरमा

मिक्रानीको परिवार पीसीआर परीक्षणको घनचक्करमा परेको छ। चार प्रयोगशालामा आएका फरक–फरक रिपोर्टले मिक्रानी परिवार रनभुल्लमा मात्रै परेको छैन, निजी अस्पताललाई चर्को मूल्य तिर्न बाध्य बनेको छ।
अस्पतालै पिच्छे पीसीआर रिपोर्ट फरक, रोग पत्ता नलाग्दै बिरामी भेन्टिलेटरमा

काठमाडौं, भदौ २९ : काठमाडौंको नरदेवीमा बस्दै आएका रौतहटका ५० वर्षीय अफताव आलम मिक्रानीलाई भदौ दोस्रो साता एक्कासी ज्वरो र रुघाखोकीले सतायो।

उनलाई ज्वरोले च्याप्दै गएपछि परिवारले डा. एन्जेल बहादुर ताम्राकारको क्लिनिकमा परीक्षणका लागि लगे।मिक्रानीको रगत परीक्षण गरेपछि डा. ताम्राकारले टाइफाइड भएको बताए। र, उनले टाइफाइडको औषधि दिए। तर, औषधि खाएपनि मिक्रानीको स्वास्थ्यमा सुधार आएन। उनलाई काठमाडौंको नेपाल नेश्नल अस्पताल भर्ना गरियो।

उक्त अस्पतालमा अक्सिजन दिएर मिक्रानीको उपचार गरियो। चार दिनसम्म पनि उनको अवस्थामा सुधार नआएपछि अस्पतालका चिकित्सकले कोरोनाको आशंका गरे। नेश्नल अस्पतालको आफ्नै ल्याब नभएकाले उनको स्वाब परीक्षणका लागि सानेपास्थित स्टार अस्पतालमा पठाइयो। 

Hardik ivf

स्टार अस्पतालमा भदौ १९ गते आएको रिपोर्टमा कोरोना संक्रमण देखिएन। मिक्रानीको अवस्था थप जटिल बन्यो। स्टारको रिपोर्ट गलत हुनसक्ने अनुमानसहित उनको पुनः स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो। राष्ट्रिय प्रयोगशालाले भदौ २१ गते दिएको रिपोर्टमा पनि मिक्रानीमा कोरोना संक्रमण भेटिएन।

दुई वटा प्रयोगशालामा परीक्षण गराउँदा कोरोना नेगेटिभ देखिएपनि मिक्रानीको स्वास्थ्यमा सुधार नभएपछि आफन्तले मेडिसिटी अस्पताल लैजान सल्लाह दिए। ‘कोरोना रिपोर्ट नेगेटिभ आयो। तर, भाइको अवस्था सुधार भएन। राम्रो उपचार पाइने भन्दै मेडिसिटी अस्पताल लैजान सल्लाह आयो,’ उनका दाजु इजहार मिक्रानीले काठमाडौंप्रेससँग भने।

नेश्नल अस्पतालमा चार दिन उपचार गराएको १ लाख ७३ हजार बिल भुक्तानी गरेर मिक्रानीलाई भदौ २३ गते ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरियो। मेडिसिटीले मिक्रानीलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गर्‍यो। छातीको एक्स–रे गर्‍यो। एक्स–रे अनुसार छातीमा समस्या देखिएको अस्पतालले जनाएको दाइ इजहारले बताए।

मेडिसिटीले मिक्रानीको पुनः कोरोना परीक्षण ग¥यो। मेडिसिटीले गरेको परीक्षणको रिपोर्ट पोजेटिभ आयो। १७ घण्टा मेडिसिटीमा मिक्रामीको उपचार गराउँदा २ लाख ९७ हजारको बिल उठ्यो।

‘पोजेटिभ रिपोर्ट आएपछि मेडिसिटीले कोरोना संक्रमितको उपचार नगर्ने भन्दै धापासीस्थित ग्रान्डी अस्पताल लैजान भन्यो। अस्पताले रेम्डेसिभिर औषधि चलाएको भन्दै रिपोर्ट आएको केही घण्टा त्यही  राख्यो र ग्रान्डी पठायो,’ इजहारले भने। 

मिक्रानीका भाइ मुन्ना अन्सारीले मेडिसिटी अस्पतालले जबरजस्ती ग्रान्डी अस्पताल रिफर गरेको बताए। ‘हाम्रो ननकोभिड अस्पताल हो। यहाँ उपचार हुँदैन भनेर ग्रान्डी रिफर गरियो,’ उनले भने।

ग्रान्डीमा समेत मिक्रानीको कोरोना परीक्षण गरियो। तर, मिक्रानीको रिपोर्ट ग्रान्डीमा भने स्टार र जनस्वास्थ्य प्रयोगशालाको झैं नेगेटिभ आयो। यसरी मिक्रानीको परिवार पीसीआर परीक्षणको घनचक्करमा परेको छ। चार प्रयोगशालामा आएका फरक–फरक रिपोर्टले मिक्रानी परिवार रनभुल्लमा मात्रै परेको छैन, निजी अस्पताललाई चर्को मूल्य तिर्न बाध्य बनेको छ।

मिक्रानी ग्रान्डीमा भर्ना भएको चार दिन बितिसकेको छ। उनी अहिले भेन्टिलेटरमै छन्। उनको परिवारले दिनको डेढ लाखका दरले अस्पताललाई भुक्तानी गरिरहेको छ। तर, अहिले पनि मिक्रानी भेन्टिलेटरमै छन्। 

‘तीन ठाउँको रिपोर्ट नेगेटिभ, एक ठाउँको पोजेटिभ आयो। हामीले कुनलाई पत्याउनु?,’ इजहारले भने, ‘एकातिर भाइको स्वास्थ्यमा सुधार भएको छैन। अर्कोतर्फ महँगो शुल्क भुक्तानी गरेका छौँ। र, पनि कुन सही रिपोर्ट हो भनेर छुट्टाउन सकिएन।’

अहिले ग्रान्डीले मिक्रानीको उपचार रेम्डेसिभिर चलाएर गरिरहेको इजहारले बताए। ‘डाक्टरहरुले रेम्डेसिभिर चलाएर उपचार भइरहेको छ भन्छन्। यो भाइरस सम्बन्धी एन्टिबायोटिक औषधि हो भनेका छन्,’ उनले भने, ‘कति दिनसम्म भेन्टिलेटर राख्नुपर्छ भनेर सोध्दा १–२ दिन भेन्टिलेटरमा राख्ने अनि भेन्टिलेटरबाट निकालेर अवस्था निक्र्यौल गर्ने भनेका छन्। भेन्टिलेटरबाट निकालेपछि अलि ठीक भए अक्सिजन लिएर आईसीयूमा राख्ने भनेका छन्। अवस्था सुधार नभए फेरि  भेन्टिलेटरमै राख्ने रे।’

इजहारले ग्रान्डीका चिकित्सकले नेगेटिभ र पोजेटिभको चक्करमा नलाग्न भनेको सुनाए। ‘डाक्टरहरुले अब नेगेटिभ, पोजेटिभको चक्करमा नफसौं। तीन ठाउँमा नेगेटिभ र एक ठाउँमा पोजेटिभ आएकाले कन्फ्युजनमा नबसौं। हामी उपचार गरिरहेका छौँ भन्नुभएको छ,’ उनले भने।
 

प्रकाशित मिति: १५:१३ बजे, सोमबार, भदौ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्