Kathmandu Press

६ बुँदे माग राख्दै जुम्लामा डा. केसीले थाले अनशन

जुम्ला, भदौ २९ : चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा प्रा.डा. गोविन्द केसीले अनशनमा सुरु गरेका छन्। चिकित्सा शिक्षा सुधारसहित विभिन्न ६ बुँदे माग...
६ बुँदे माग राख्दै जुम्लामा डा. केसीले थाले अनशन

जुम्ला, भदौ २९ : चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा प्रा.डा. गोविन्द केसीले अनशनमा सुरु गरेका छन्। 

चिकित्सा शिक्षा सुधारसहित विभिन्न ६ बुँदे माग राख्दै सोमबारदेखि डा. केसी जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा अनशन बसेका हुन्।  डा. केसीको यो १९ औं सत्याग्रह हो। 

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गरिनु पर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गर्नुपर्ने, प्रदेश २,  गण्डकी प्रदेश, डोटी, डडेलधुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने माग अघि सारेका छन्।  

यस्तै, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याउन पनि डा. केसीले माग गरेका छन्। उनले सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढंगबाट  नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेका छन्।

डा. केसीले मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने र २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने माग गरेका छन्। 

 

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, भदौ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्