पर्वतमा पहिरोले घर पुरिँदा चार वर्षीया बालिकाको मृत्यु

पर्वत, भदौ २९ : पर्वतको फलेबास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुरिँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार स्थानीय नवीन विकको घर पुरिँदा उनकी चार वर्षीया छोरी निकिताको ज्यान गएको हो। गएराति खसेको परिहोले घर पुरिएको थियो। स्थानीय बासिन्दाले खोजी गर्दा आज बिहान उनको शव भेटिएको जनाएको छ।
घरमा रहेका अन्य व्यक्ति भने पहिरो खस्दा भागेका थिए। घरका १२ जनामध्ये ११ जना भागेपनि निकिता भने पहिरोमा च्यापिएकी थिइन्। उनी सुतिरहेकाले काखमा लिएर भाग्दा ढुंगाले लागेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको छ। प्रहरी र स्थानीय बासिन्दा उद्धारमा जुटेका छन्।
यस्तै, गएराति पहिरो खसेर मुडिकुवा र शंकरपोखरीको सिमानास्थित सर्याङ्दीखोलाको पुल पुरिएको छ। मुडिकुवाको पाखेबारीमा खसेको पहिरोले पुल पुरिएको हो। जसले गर्दा शंकरपोखरीबाट कुश्मा नगरपालिका आवतजावत बन्द भएको छ।








![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)


