Kathmandu Press

कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्यु

काठमाडौं, भदौ २९ : कोरोना भाइरसको संक्रमणबाट पछिल्लो केही घन्टामा थप चार जनाको मृत्यु भएको छ। मोरङमा दुई, महोत्तरी र रुपन्देहीमा एक-एक जनाको...
कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्यु

काठमाडौं, भदौ २९ : कोरोना भाइरसको संक्रमणबाट पछिल्लो केही घन्टामा थप चार जनाको मृत्यु भएको छ। मोरङमा दुई, महोत्तरी र रुपन्देहीमा एक-एक जनाको मृत्यु भएको हो।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ। तीमध्ये कुनै दिर्घरोगी नभएको प्रतिष्ठानले जनाएको छ।

मोरङको धनपालथान–६ का ४० वर्षीय युवकको आइतबार राति ८ः४५ मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

शुक्रबार प्रतिष्ठानको ल्याबमा कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो। शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको उनको आइतबार राति मृत्यु भएको हो।

त्यस्तै, आइतबार दिउँसो विराटनगर–१२ का ७० वर्षीय वृद्धको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको हो। उनलाई विराटनगरस्थित म्याक्स अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो।

उनलाई भदौ १६ गते कोराना पुष्टि भएको थियो। उनी पहिलादेखि नै उच्च रक्तचापको समस्याबाट पीडित थिए। योसँगै प्रतिष्ठानमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ।

यसैगरि महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय वृद्धको कोभिड–१९ बाट मृत्यु भएको छ। कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो। उनको आइतबार मृत्यु भएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजय झाले बताए।

भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएको थियो। भदौ २४ गते कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो। उनी उच्च रक्तचापबाट पीडित थिए।

उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताए।

आज बिहान रुपन्देहीस्थित कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुकी कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

भदौ २१ गते गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मिर्गौलाको डाइलासिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा लगिएको थियो। उनको  आइसियुमा राखेर उपचार भइरहेको थियो। कोरोना विशेष अस्थायी अस्पतालमा आजसम्म १७ जना आइसियुमा र एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

प्रकाशित मिति: ०९:४३ बजे, सोमबार, भदौ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्