Kathmandu Press

माधव नेपाल बीचैमा किन बाहिरिए प्रज्ञाभवनबाट?

काठमाडौं, वैशाख ९ : नेकपाको ७० औँ स्थापना दिवस समारोहबाट वरिष्ठ नेता माधवकुमार नेपालले बीचैमा छाडेर हिँडेका छन्। पार्टीमा तेस्रो वरियताका नेता नेपालला....

माधव नेपाल बीचैमा किन बाहिरिए प्रज्ञाभवनबाट?

काठमाडौं, वैशाख ९ : नेकपाको ७० औँ स्थापना दिवस समारोहबाट वरिष्ठ नेता माधवकुमार नेपालले बीचैमा छाडेर हिँडेका छन्। पार्टीमा तेस्रो वरियताका नेता नेपाललाई कार्यक्रममा कुनै भूमिका नदिइएपछि उपस्थित मात्र भएर हिँडेका हुन्।

वरिष्ठ नेता नेपाल निकट नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले काठमाडौंप्रेससँग भने,‘लामो समयदेखि हाम्रो पार्टी दुई अध्यक्षात्मक प्रणालीमा चलेको छ। दुई अध्यक्षले मात्र सम्बोधन गर्ने भनी पहिले नै तय भएको थियो। वरिष्ठ नेताको त्यहाँ कुनै जिम्मेवारी थिएन। त्यसैले उहाँ कार्यक्रममा उपस्थित हुनुभो र बाहिरिनुभएको हो।’

कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष प्रचण्ड। उनको सम्बोधन सुरू हुनासाथ वरिष्ठ नेता माधवकुमार नेपाल मञ्चबाट बाहिरिसकेका थिए।

कार्यक्रममा पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्दा केहीअघि मात्र कार्यक्रम स्थलमा पुगेका थिए। त्यतिबेलासम्म अर्का वरिष्ठ नेता झलनाथ खनाल केपी ओली बस्ने आसनको नजिक बसिसकेका थिए। उता प्रचण्डका लागि राखिएको आसनका नजिक वामदेव गौतम बसिसकेका थिए।

बीचको दुई सीट छाडेर खनाल र गौतम बसिसकेपछि पुगेका नेपालले खनालसँगै जोडिएको आसनमा बस्न प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आग्रह गरे तर श्रेष्ठले त्यसलाई स्वीकारेनन्। दुई अध्यक्ष आइपुगेर कार्यक्रम सुरु हुनुअघिसम्म खनालभन्दा छेउपट्टिको कुर्सीमा बसे।

अध्यक्षद्वय आएपछि महासचिव विष्णु पौडेलले कार्यक्रम सुरु गरे। उनले भने, ‘हाम्रो कार्यक्रम छोटो हुनेछ। दुई जना अध्यक्षले मात्र सम्बोधन गर्नुहुनेछ।’ पौडेलले यसो भनेलगत्तै पूर्वप्रधानमन्त्री नेपाल हलबाट बाहिरिएका थिए।

एमाले र माओवादीकेन्द्रको एकताको ११ महिनापछि जिल्ला कमिटीहरू एकीकृत भएको घोषणा गर्ने उक्त समारोहमा अध्यक्षद्वयले नेतृत्व गर्ने गुटका नेता–कार्यकर्ता भारी सङ्ख्यामा उपस्थित भए पनि वरिष्ठ नेता नेपाल पक्षका नेता–कार्यकर्ताको पातलो उपस्थिति थियो। नेपालनिकट स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरू समेत प्रज्ञाभवनमा गएका थिएनन्।

प्रकाशित मिति: १८:५६ बजे, सोमबार, वैशाख ९, २०७६