पाँच हजार सुरक्षाकर्मी कोरोना संक्रमित
काठमाडौं, भदौ २८ : पछिल्लो समयमा मुलुकभर कोरोना संक्रमितको संख्या बढेसँगै सुरक्षा निकायमा पनि दर बढ्दो छ। नेपालका चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल...
काठमाडौं, भदौ २८ : पछिल्लो समयमा मुलुकभर कोरोना संक्रमितको संख्या बढेसँगै सुरक्षा निकायमा पनि दर बढ्दो छ।
नेपालका चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) बाट प्राप्त विवरणअनुसार आजसम्म पाँच हजार १३५ सुरक्षाकर्मीमा कोभिड–१९ देखिसकेको छ।
त्यसमध्ये दुई हजार १८ जना कोरोना जितेर कार्यक्षेत्रमा खटिइसकेका छन्। निको भएकामा उच्च मनोबल देखिएकाले अन्य प्रहरी कर्मचारीलाई समेत हौसला मिलेको नेपाल प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले बताए।
सबैभन्दा बढी नेपाल प्रहरीमा संक्रमण
हालसम्म चार सुरक्षा निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरी संक्रमित भएका छन्। सर्वसाधारणसँग प्रत्यक्ष साक्षात्कार हुने भएकाले प्रहरी बढी प्रभावित भएका हुन्।
सार्वजनिक तथ्याङ्कअनुसार नेपाल प्रहरीमा आजसम्म कूल दुई हजार ८१७ जनामा संक्रमण भएको छ। उनीहरूमध्ये एक हजार २३३ प्रहरी निको भएर कार्यस्थलमा खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी जोखिम आङ्कलन गरेरै आवश्यक सुरक्षा सावधानीका साथ कार्यक्षेत्रमा खटिँदै आएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताए।
‘संक्रमित प्रहरी कर्मचारीमा उच्च मनोबल छ, निको भएर मुलुकको सुरक्षाप्रति थप प्रतिबद्ध हुँदै कार्यस्थलमा खटिएका छन्,’ पोखरेलले भने, ‘जोखिम रोक्ने महत्वपूर्ण भूमिका प्राप्त प्रहरी जिम्मेवारीबाट पन्छिदैन।’ तर संक्रमण दर बढ्दो क्रममा रहेकाले शान्तिसुरक्षामा ठाउँठाउँमा खटिनुपर्ने प्रहरीको उपस्थिति न्यून गर्नुपर्ने बाध्ययताको सम्भावना देखिएको छ।
नेपाली सेनाका एक हजार ३०० भन्दा बढी
सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार नेपाली सेनामा पछिल्लो एक सातामा संक्रमित ह्वात्तै बढेको छ। अहिलेसम्म कूल एक हजार ३८३ मध्ये झण्डै ७०० पछिल्लो एक हप्तामै संक्रमित भएका उनले जानकारी दिए। सबैभन्दा बढी मध्यपूर्वी पृतनामा १८९ जना संक्रमित छन्। उपत्यकामा १८४, मध्यपश्चिम पृतनामा १५४ मा संक्रमण देखिएको छ। सेनाका ५६ स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन्।
पौडेलका अनुसार संक्रमितमध्ये २९४ निको भएर कार्यक्षेत्रमा खटिएको र बाँकीको उपचार जारी छ। पछिल्लो एक हप्तामै संक्रमणदर एक्कासि बढ्दा निको हुने प्रतिशत कम देखिएको उनले बताए।
सशस्त्र प्रहरीका ९१५ पोजिटिभ
सशस्त्र प्रहरी बल नेपालका ९१५ जना संक्रमित भएका छन्। त्यसमध्ये झण्डै ५५ प्रतिशत निको भएका छन्। हाल ४३५ उपचाररत रहेका सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए। सशस्त्र प्रहरीका अधिकांशमा लक्षण देखिएको छैन। मुख्यगरी सीमा नियन्त्रण, भीडभाड नियन्त्रण, आइसोलेसन व्यवस्थापन, सर्वसाधारणको सुरक्षा, भीडभाड नियन्त्रण, सडक सुरक्षामा बसेका बेला उनीहरू सङ्क्रमित हुन पुगेका अर्यालले बताए।
राष्ट्रिय अनुसन्धानका २० मा कोरोना
सरकारका लागि सम्भावित जोखिमको सूचना संकलनमा सादा पोसाकमा खटिने राष्ट्रिय अनुसन्धान विभागका २० जनामा पनि कोरोना देखिएको छ।
प्राप्त विवरणअनुसार विभागअन्तर्गत रहेको उनीहरूमध्ये अहिले ११ जना उपचाररत छन्। प्रदेश २ मा सबैभन्दा बढी नौ जना संक्रमित छन्।
वागमती प्रदेश सात, गण्डकी एक, प्रदेश ५ मा दुई र सुदूरपश्चिम प्रदेश एक जनामा संक्रमित देखिएको विभागले जनाएको छ। विभागका एक सुरक्षा अधिकारीले कसैलाई पनि लक्षण नदेखिएको र आइसोलेसनमा भएकाबाहेक सबै उच्च मनोबलका साथ काम गरिरहेको उनले जानकारी दिए।











