चितवनमा होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु
भरतपुर, भदौ २८ : चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ।भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको कोरोनाबाट...
भरतपुर, भदौ २८ : चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको कोरोनाबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक नान्तिराज गुरुङले बताए। उनको आइतबार बिहान ६ बजे मृत्यु भएको हो।
कन्ट्याक्ट ट्रेसिङका क्रममा भदौ ११ गते स्वाब संकलन गरिएको थियो। भदौ १५ गते आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी होम आइसोलेसनमा बसिरहेकी थिइन्। उनी दिर्घरोगी रहेको जनाएको छ।
त्यस्तै, चितवनको खैरहनी नगरपालिकामा १०८ वर्षीया वृद्धाको पनि कोरोनाबाट मृत्यु भएको छ। उनको घरमै मृत्यु भएको थियो। मृत्यु भएपछि कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। बाहिरी जिल्लाका सहित उपचारका क्रममा मृत्यु हुनेको संख्या भने २७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, चितवनले जनाएको छ।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

