Kathmandu Press

सिन्धुपाल्चोक पहिरो: तीनको मृत्यु, २५ बेपत्ता (अपडेट)

गएराति सिन्धुपाल्चोकका दुई ठाउँमा गएको पहिरोमा १८ घर पुरिँदा तीन जनाको मृत्यु भएको छ भने २५ बेपत्ता भएका छन्।
सिन्धुपाल्चोक पहिरो: तीनको मृत्यु, २५ बेपत्ता (अपडेट)
सिन्धुपाल्चाेककाे बाह्रबिसेमा गएकाे पहिराे। तस्बिर : श्रीधर न्याैपाने

सिन्धुपाल्चोक, भदौ २८ : गएराति सिन्धुपाल्चोकका दुई ठाउँमा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने २५ बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा र भीरखर्कमा गएको पहिरोमा १८ घर पुरिएका छन्। धुम्थाङमा आठ घर र भीरखर्कमा १० घर पुरिएका छन्।

पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। तीन शव भेटिएको र उनीहरुमध्ये दुई जनाकाे सनाखत भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

धुम्थाङमा पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठको शव भेटिएकाे छ। त्यस्तै भीरखर्कमा पहिराेमा पुरिएर २० वर्षीया जुनु बिकको मृत्यु भएकाे छ। एक जनाकाे सनाखत हुन सकेकाे छैन।

त्यस्तै, पहिरोमा पुरिएर दुवै ठाउँमा २५ जना बेपत्ता भएका छन्। धुम्थाङमा १४ जना र भीरखर्कमा ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। भीरखर्कमा घाइते भएका दुई जनाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

पहिरोमा बेपत्ता भएकाहरुको उद्धार र खोजी भइरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीसँगै स्थानीय बासिन्दा उद्धार तथा खोजीमा जुटेका छन्।

घटनाको विस्तृत वितरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ। यस अघि पनि सिन्धुपाल्चोकमा पहिरो गएको थियो।

 

प्रकाशित मिति: १०:०२ बजे, आइतबार, भदौ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्