Kathmandu Press

ओली सरकार अधिनायकवादतर्फ उन्मुख भयोः देउवा

दमक, वैशाख ९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। 

ओली सरकार अधिनायकवादतर्फ उन्मुख भयोः देउवा
फाइल फोटो

दमक, वैशाख ९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। 

झापको चन्द्रगढी विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै सभापति देउवाले सरकारका पछिल्ला गतिविधिले अधिनायकवादको संकेत गरेको बताए। उनले सेना परिचालनको जिम्मा प्रधानमन्त्रीमातहत ल्याउन खोज्नु र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेर सरकारले अधिनायवादी चरित्र देखाएको बताए।

देउवाले नेकपाका महासचिव विष्णु पौडेलले किनेको भनिएको ८ आना जग्गा सुवर्ण शमशेरको रहेको पनि दाबी गए। उनले भने,‘ललिता सुवर्णकी श्रीमती हुनुहुन्छ। सरकारले अधिग्रहण गरेको जग्गा यदि कसैले पाउने भए त्यो जग्गा सुवर्ण शम्शेरका नातिले पाउनु पर्छ।’ 

फरक प्रसंगमा देउवाले कांग्रेस कमजोर प्रतिपक्षी नभएको दाबी गरे। उनले भने,‘कांग्रेसले संसदमा कमजोर भूमिका निर्वाह गरेको छैन।’ सभापति देउवाले भोट दिने बेला अरुलाई दिएर प्रतिपक्षमा कांग्रेसको बलियो उपस्थिति भएन भनेर बदनाम गर्न खोजिएको बताए।

उनले पार्टी गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको पनि बताए।  ‘प्रजातान्त्रिक पार्टीमा फरक विचार पनि आउँछ। यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो, त्यो सरासर झुट मात्र हो,’उनले भने।
 

प्रकाशित मिति: १६:१० बजे, सोमबार, वैशाख ९, २०७६