Kathmandu Press

फ्रान्सेली राफेल लडाकू बिमान भारतीय वायुसेनामा

फ्रान्सेली राफेल लडाकू बिमान भारतीय वायुसेनामा

नयाँदिल्ली, भदौ २५ : भारत सरकारले खरिद गरेका फ्रान्समा निर्मित पाँचवटा राफेल लडाकू बिमान भारतीय वायुसेनामा बिहीबारदेखि समाहित भएका छन्। 

चीनसँगको सीमा क्षेत्रमा तनाब बढिरहेको अवस्थामा नयाँ लडाकू बिमान भारतीय वायुसेनामा प्रवेश गराइएको छ। 

भारतले चीनसँगको सीमा क्षेत्र लद्दाखमा सैन्य तनाब बढेसँगै ठूलो संख्यामा लडाकू बिमान, हातहतियार र सैनिक परिचालन गरेको छ। गत जुन १५ मा यही क्षेत्रमा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। 

अम्बालास्थित हवाई अखडामा आयोजित समारोहमा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारतीय सीमा क्षेत्रमा तनाब भइरहेको अवस्थामा नयाँ लडाकू बिमानले भारतीय सेनाको मनोबल थप उच्च बनाउने विश्वास व्यक्त गुरे।

चीनबाहेक भारत र पाकिस्तानबीच पनि काश्मिर विषयलाई लिएर सीमा क्षेत्रमा तनाबको स्थिति रहँदै आएको छ।

राफेल बिमान खरिद गर्ने सम्बन्धमा भारत र फ्रान्सबीच सन् २०१६ मा ८ अर्ब ७८ करोड डलरको एक सम्झौता भएको थियो। सम्झौता बमोजिम फ्रान्सले सन् २०२२ भित्रमा ३६ वटा राफेल बिमान हस्तान्तरण गर्नु पर्नेछ। 

बिमान हस्तान्तरण समारोहमा बोल्दै फ्रान्सका रक्षा मन्त्री फ्लोरेन्स पार्लीले फ्रान्सेली बिमानहरु माली र सिरियाजस्ता युद्धग्रस्त क्षेत्रमा परिचालन गरिएका र त्यसले निकै राम्रो नतिजा दिएको बताए। 

हालसम्म रुसी लडाकू बिमानमा निर्भर रहेको भारतमा अब फ्रान्सेली राफेल बिमान पनि उपलब्ध भएको छ। 

प्रकाशित मिति: १७:३९ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्