राप्रपा वार्ता टोली संयोजकमा दीपक बोहोरा
काठमाडौं, वैशाख ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहोराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरे....

काठमाडौं, वैशाख ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहोराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। वार्ता टोलीमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा रहेका छन्।
राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले वार्ताका लागि बोलाएकोमा त्यसको स्वागत गरेका छन्। हिजो मात्र कानूनमन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र लेखी फागुन ७ गते राप्रपाले पेश गरेको २२ बुँदे मागपत्रका सम्बन्धमा छलफल गर्न बैशाख १० गते वार्ताका लागि आमन्त्रण गरेका थिए।
राप्रपा अध्यक्ष कमल थापाले सरकारसमक्ष गत फागुन ७ गते २२ बुँदे माग पत्र बुझाएका थिए। जसमा धर्म निरपेक्षता खारेज गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने, राजसंस्थादेखि सबै राजनीतिक शक्ति अटाउने गरी गोलमेच सम्मेलन गर्नुपर्ने लगायतका माग थिए।
राप्रपाले माग पूरा गराउन दबाब सिर्जना गर्न ‘राष्ट्रिय स्वाभिमान यात्रा’ नाम दिएर देशव्यापी दबाब कार्यक्रम आयोजना गरेकाे थियाे।











