नेकपाका जिल्ला अध्यक्ष र सचिवको घोषणा हुँदै
काठमाडौं, वैशाख ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले साविकका एमाले र माओवादी केन्द्रबीच केन्द्रीय स्तरमा पार्टी एकता गरेको ११ महिनापछि बल्ल पार्टीको ....
काठमाडौं, वैशाख ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले साविकका एमाले र माओवादी केन्द्रबीच केन्द्रीय स्तरमा पार्टी एकता गरेको ११ महिनापछि बल्ल पार्टीको जिल्ला तहसम्मको एकीकरण पूरा गरेको छ। पार्र्टीका २२ जनवर्गीय संगठन र ३२ केन्द्रीय विभागको एकीकरण गर्न अझै बाँकी छ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औँ वार्षिकोत्सव समारोहमा आज अपराह्न १ बजे काठमाडौंको प्रज्ञाभवन, कमलादीमा ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको घोषणा गर्ने तयारी छ। जिल्ला तहमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नजिकिँदै गर्दा भएको यो एकताले नेकपाको भावी नेतृत्वको समेत तस्विर देखाउन थालेको छ।
एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व साविकको एमाले र ३३ जिल्लाको नेतृत्व साविक माओवादी केन्द्रले पाएका छन्। एमालेले अध्यक्ष पाएको जिल्लामा पार्टी सचिव साविकको माओवादी केन्द्र र माओवादी केन्द्रले अध्यक्ष पाएको जिल्लामा साविक एमालेका सचिव हुने गरी टुंगो लगाइएको हो।
जिल्ला अध्यक्ष र सचिवको सूची आजै सार्वजनिक गर्ने नेकपाले जनाएको छ। यो नयाँ मापदण्ड बनाउन प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सहमत भएपछि एकता टुंगिएको हो।
जनप्रतिनिधि रहेका नेतालाई कार्यकारी जिम्मेवारी नदिँदा एमालेभित्र अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच समझदारी जुटाउन हम्मेहम्मे परेको थियो।
गठबन्धन बनाएर चुनाव लडेको सात महिनापछि २०७५ जेठ ३ गते दुवै पार्टीका अध्यक्ष समान हैसियतमा अध्यक्ष रहने गरी राष्ट्रिय सभागृहबाट पार्टी एकीकरणको घोषणा गरिएको थियो।






