Kathmandu Press

पहिरोले लमजुङका पाँच घर उच्च जोखिममा

पहिरोले लमजुङका पाँच घर उच्च जोखिममा

लमजुङ, भदौ २५ : डुम्रे– बेँसीसहर सडकखण्ड नजिकै लमजुङ बेँसीशहर नगरपालिका–२ बोहोरा बेँसी गाउँका पाँच घर पहिरोको उच्च जोखिममा छन्। 

घर तल गत साउन महिनाको पहिलो साताबाट जान थालेको पहिरो गएको थियो। फेरि बुधबार साँझबाट परेको अविरल वर्षासँगै आज बिहानदेखि पहिरो जान थालेपछि ती घर उच्च जोखिममा परेको वडाध्यक्ष गणेश कँडेलले बताए। 

उनका अनुसार रामजी बोहोरा, सुरेन्द्र बोहोरा, बाबुराम बोहोरा, बीबी बोहोरा र बुद्धि बोहोराको घर उच्च जोखिममा छन्। घर तल पहिरो गएको र बेलाबेला वर्षा हुँदासमेत अलिअलि पहिरो जाने गरेको वडाध्यक्ष कँडेलको भनाइ छ। घर वरिपरि एक÷एक मिटरको जमिन चर्किएको र ठूलो वर्षासँगै घर नजिकै गइरहेको पहिरोले घरहरु नै तान्ने सम्भावना रहेको स्थानीयको भनाइ छ। बोहोरा बेँसी गाउँ नजिकैबाट करिब २०० मिटर लामो पहिरो गत साउनबाटै जान थालेको छ। पहिरोले पटकपटक डुम्रे–बेँसीशहर सडकसमेत अवरुद्ध बनाउँदै आएको छ। 

सडकमाथि पहिरो आएको नजिकै रहेका तीन घरलाई गत महिना नै स्थानान्तरण गरिएको छ। नगरपालिकाले तत्कालका लागि प्रत्येक परिवारलाई ३० हजार रुपैयाँका दरले आर्थिक सहयोगसमेत गरिसकेको वडाध्यक्ष कँडेलले बताए।

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्