Kathmandu Press

खानाका लागि सडकमा आउँदै बालबालिका

सरकारले ‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्न हुँदैन’ भन्ने नारा दिएर सडक बालबालिकामुक्त बनाउने अभियान सुरु गरेको थियो, तर लकडाउन र निषेधाज्ञाले गर्दा खान पाउन मुस्किल हुनथालेपछि विपन्न परिवारका बालबालिका सडकमा आउन थालेका छन्।
खानाका लागि सडकमा आउँदै बालबालिका

काठमाडौं, भदौं २५ : कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाले गर्दा खाना खान पाउनै मुस्किल भएपछि विपन्न तथा दैनिक ज्यालादारीमा निर्भर परिवारका बालबालिका फेरि सडकमा आउन थालेका छन्।

सरकारले आर्थिक वर्ष २०७३/७४ मै भनेको ‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्न हुँदैन’ भन्ने नारा दिएको थियो। त्यहि अनुरुप महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पर्वत गुरुङले सडक बालबालिकामुक्त बनाउने अभियान सुरु गरेका थिए।

यस अभियानअन्तर्गत सडक बालबालिकालाई उद्धार गर्न थालिएको थियो। काठमाडौंका सकडमा रहेका थुप्रै बालबालिका र ज्येष्ठ नागरिकको उद्धार गरिएको थियो।

Hardik ivf

तर, कोरोना नियन्त्रणका लागि सरकारले गरेको लामो लकडाउन र अहिले लागू गरिएको निषेधाज्ञाले फेरि बालबालिका सकडमा आउन बाध्य भएका छन्। सरकारले सडक बालबालिकामुक्त बनाउने अभियान चलाएपनि लामो समयसम्म लकडाउन हुँदा आर्थिक संकटका कारण बालबालिका सडकसम्म आइपुगेको राष्ट्रिय बालअधिकार परिषद्ले जनाएको छ। ‘कोभिड–१९ को प्रभावका कारण सडक बालबालिकाको संख्या बढेको छ,’ परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले भने।

बालअधिकार परिषद्का अनुसार कोरोनाको समयमा आर्थिक संकटले पेटभर खाना पाउन नसकेपछि बालबालिका सडकमा आइपुगेका हुन्। चन्दले काठमाडौं प्रेससँग भने, ‘ज्यामी काम गर्ने तथा मजदुरी गरेर दैनिकी चलाउने परिवारका बालबालिका सडकमा पुगेका छन्।’

सानो व्यवसाय गर्नेका बालबालिका, लुकेर तथा भागेर बस्ने गरेका बालबालिका, निम्न बर्गका बालबालिका भोकै बस्नु परेपछि सडकमा देखिन आउन थालेको उनले बताए । कोरोना नियन्त्रणको लागि गरिएको निषेधज्ञा लम्बिदै जाँदा सडक बालबालिको संख्या अझ बढ्ने परिषदले जनाएको छ।

लकडाउन घोषणा गरिएयता परिषदले ९७ बालबालिकालाई सकडबाट उद्धार गरेको छ। गत चैतदेखि जेठसम्म ७३, असारमा २२ र साउनमा दुई बालबालिकाको उद्धार गरिएको परिषद्को तथ्यांक छ। त्यस्तै, यो अवधिमा सडकबाट उद्धार गरिएका ४२ बालबालिकालाई परिवारको जिम्मा लगाएको परिषदले जनाएको छ।

परिषद्ले सडक बालबालिका खोजतलासको लागि अनुगमन भइरहेको जनाएको छ। लामो समयसम्म सडक पेटीमा डुलिरहेका तथा घर ठेगाना थाहा नभएका बालबालिकालाई अस्थायी सेवा केन्द्रमा लगेर राख्ने गरिएको छ।

अस्थायी सेवा केन्द्रमा ६ महिनासम्म राख्छिन्। त्यो समयसम्म बालबालिकाको ठेगना पत्ता नलागेमा अर्थात बालबालिकामा सुधार नआएमा बालसुधार केन्द्रमा लगेर राख्ने गरिएको उनले बताए। देशभर तीन सय ५९ वटा बालगृह छन्।

पाँच वर्षमा १ हजार ४ सय बालिबालिकाको उद्धार

परिषद्ले गत पाँचवर्षमा एक हजार चार सय ७६ बालबालिको सडकबाट उद्धार गरेको छ। आर्थिक वर्ष २०७२/७३ मा दुईसय तीन र   २०७३/७४ मा चार सय ९० बालबालिकाको उद्धार गरेको छ।

त्यस्तै, २०७४/७५ मा एकसय ८०, २०७५/७६ मा एकसय ३८ र २०७६/७७ मा चार सय ६५ बालिबालिकालाई उद्धार गरेको तथ्यांक छ। कोरोनाका कारण सडक बालबालिकामुक्त बनाउने कार्यक्रम पनि प्रभावित भएको उनले बताए।

 

प्रकाशित मिति: ०९:४१ बजे, बिहीबार, भदौ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्