अब ‘नो हर्न, नो ओभरटेक’
तनहुँं, भदौं २५ : जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौली बजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ । दमौली बजारभित्र...तनहुँं, भदौं २५ : जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौली बजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ । दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न र नो ओभरटेक’ को अवधारणा ल्याएको हो ।
अनावश्यक रुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए। “तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यक रुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौ”, उनले भने, “शुरु शुरुमा सवारी चालकलाई यसबारेमा जानकारी गराउने र अटेरी गर्नेलाई कानून बमोजिम कारवाही गर्छौ ।”
प्रहरीको यो अभियानलाई तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाईले साथ दिएको छ । एकाईले प्रहरीलाई सचेतनामूलक चार वटा सङ्केत सामग्री हस्तान्तरण गरेको छ । सङ्केत सामग्रीमा तीव्र गतिमा सवारी नचलाऔँ, ओभरटेक ननगरौं र हर्न नबजाऔँ भन्ने सचेतनामूलक सन्देश राखिएको छ ।
दमौली बजार क्षेत्रको सवारी व्यवस्थापनका लागि एकाईले विगतदेखि नै प्रहरीलाई सहयोग गर्दै आइरहेको एकाई सभापति राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार एकाईले सहयोग गरेको उक्त सङ्केत सामग्री दमौली बजार प्रवेश गर्ने बुल्दी र मादी पुलमा राखिनेछ । त्यसका साथै भोर्लेटार चोक र जिल्ला प्रहरी कार्यालय अगाडी पनि उक्त सामग्री राखिने श्रेष्ठले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले सवारी व्यवस्थापनका लागि सामाजिक सङ्घसंस्थाको सहयोग सकारात्मक रहेको बताए । (रासस)