नख्खु बिस्फोटका अभियुक्त सेनाको भगौडा सिपाही हुँदै विप्लवको बडिगार्ड
काठमाडौं, वैशाख ८ : नख्खु बिस्फोट घटनामा चार वटा मुद्दा चलिरहँदा सर्वोच्च अदालतबाट छुटेका नुवाकोट जिल्ला साबिक तारुका–२ का सूर्य भूजेल नेपा....
काठमाडौं, वैशाख ८ : नख्खु बिस्फोट घटनामा चार वटा मुद्दा चलिरहँदा सर्वोच्च अदालतबाट छुटेका नुवाकोट जिल्ला साबिक तारुका–२ का सूर्य भूजेल नेपाली सेनाका भगौडा सिपाही रहेको खुलेको छ।
सैनिक सूत्रका अनुसार भूजेलको पृष्ठभूमि नेपाली सेनाबाट सुरू भएको थियो। रथी कार्यालय जंगी अड्डाका अनुसार उनी २०५४ साल असोज १० गते तत्कालीन शाही नेपाली सेनामा भर्ती भएका थिए।
सेनाको सिपाही रहेकै बखत उनी २०६१ साउन १ गते सेवा छोडेर भागेको जंगी अड्डा स्रोतले बतायो। सेनाका तिनै भगौडा सिपाही जागिर छोडेपछि माओवादी सम्पर्कमा पुगेको जंगी अड्डा स्रोत बताउँछ।
सेनाका अनुसार भागेपछि युद्वरत् तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीमा उनी प्रवेश गरेका थिए। त्यसबेला उनलाई नुवाकोट जिल्ला युवा परिचालनको जिम्मेवारी दिइएको थियो।
माओवादी शान्ति प्रक्रियामा आएपछि भूजेल अर्धसैन्य दस्ता वाइसिएलको जिल्ला कमिटी इञ्चार्ज बनाइएका थिए। प्रहरीका अनुसार उनी २०६४÷२०६५ मा वाइसिएलमार्फत ठेक्कापट्टा, टेन्डर कब्जा गर्ने र अबैध असुली गरी पार्टीलाई सघाउँथे।
पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादीबाट छुट्टिएर विप्लवले नयाँ पार्टी गठन गरेपछि भूजेल विप्लवको सम्पर्कमा आएको प्रहरी बताउँछ।
पछिल्लो समय विप्लव नेतृत्वको माओवादीले देशव्यापी रुपमा हिंसात्मक घटना गराइरहेको छ। त्यो सिलसिलामा भूजेललाई नख्खु बिस्फोटमा खटाइएको थियो। भूजेलले सेनामा रहँदा हतियार तथा बिस्फोट गराउन सिकेको सिप अहिले विप्लवको गतिविधिमा प्रयोग गरेको प्रहरी स्रोतले बतायो।
याे पनि
नक्खु विष्फोटको नालीबेलीः विप्लवलाई नाफा–घाटादेखि लगानी सम्मेलनमा पर्ने असरसम्म
‘सैनिकको गतिविधि र परिचालनको ज्ञान प्राप्त भूजेललाई प्रचण्डबाट अलग भएर नयाँ पार्टी गठनसँगै विप्लवले बडिगार्ड राखेको खुल्नमा आएको छ,’ अपराध महाशाखाका एक अधिकारीले भने।
उनै भूजेल नख्खु बिस्फोटका मुख्य अभियुक्त किटान गरिएका थिए। ३८ वर्षीय भूजेललाई सर्वोच्च अदालतले शुक्रबार रिहा गरेको थियो।
सर्वोच्च अदालतले रिहा गरेलगत्तै पक्राउ गरिएका भूजेललाई महानगरीय प्रहरी परिसर काठमाडौंले हिरासत लिएको छ।
भूजेललाई सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आइतबार आदेश दिएको छ। भूजेललाई कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध, संगठित अपराध र बम बिस्फोट घटनामा पक्राउ गरी ललितपुर परिसरले मुद्दा चलाएको थियो। मुद्दाको पृष्ठभूमि नख्खु बिस्फोट थियो।
फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालयमा गराइएको बिस्फोट घटनामा मुख्य अभियुक्त किटान गर्दै प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको थियो।
चार वटै मुद्दा चलिरहेका बखत बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले भूजेललाई थुनामुक्त गर्न आदेश दिएको थियो।
याे पनि
२०७५ सालका चार मृत्युले जन्माएकाे प्रश्न – के याे नेपालीकाे चरित्र हाे?
नख्खु बिस्फोटमा संलग्न रहेको आरोपमा भूजेललाई फागुन १५ गते कलंकीबाट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो। गत चैत २७ गते उनकी श्रीमती पितकुमारी भूजेलले प्रहरीले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएकी थिइन्।
फागुन १० गते एनसेलको नख्खुस्थित मुख्य कार्यालय अगाडि बम बिस्फोट हुँदा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो।
विप्लव माओवादी पार्टीमा भूजेल काठमाडौं जिल्ला सदस्य र बम बिस्फोट तथा विधंशात्मक गतिविधि गर्ने (स्पेसल टास्क फोर्स) समूहका मध्य कमाण्ड इन्चार्ज थिए।






