Kathmandu Press

विज्ञ भन्छन्- भेन्टिलेटर ल्याउँदै गरौँला, पहिले अस्पतालमा अक्सिजन प्लान्ट बनाऔँ

‘अहिलेको अवस्थामा अक्सिजन प्लान्टको आवश्यकता धेरै छ। कोरोनाका २० प्रतिशत बिरामीलाई अक्सिजन दिएर उपचार गर्नु पर्ने हुन्छ,’ उनी भन्छन्, ‘भेन्टिलेटरमा पुग्ने जम्मा ३-४ प्रतिशत मात्रै हो। अक्सिजनको राम्रो प्रबन्ध हुँदा बिरामीलाई भेन्टिलेटरमा जानबाट रोक्न सकिन्छ।’
विज्ञ भन्छन्- भेन्टिलेटर ल्याउँदै गरौँला, पहिले अस्पतालमा अक्सिजन प्लान्ट बनाऔँ

काठमाडौं, भदौ २४ : कोरोना भाइरसका संक्रमितको उपचार गर्न भेन्टिलेटर खरिदमा भन्दा सरकारले अक्सिजन प्लान्ट स्थापना  गर्नु पर्ने विज्ञहरुले बताएका छन्। उनीहरु अक्सिजन सेचुरेसन कम भएका संक्रमितको संख्या थपिन सक्ने भएकाले प्लान्ट स्थापना गर्नुपर्ने बताउँछन्।
 
कोभिड–१९ संक्रमणका बिरामीको उपचारमा मेडिकल अक्सिजन थेरापीलाई मुख्य विधि मानिन्छ। संक्रमित बिरामीको श्वासप्रश्वासमा समेत समस्या देखिने भएकाले अक्सिजन अत्यावश्यक रहेकाले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नु पर्ने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँछन्।

सरकारले तत्कालै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न कदम चाल्नु पर्ने उनको भनाइ छ। ‘अक्सिजन सेचुरेसन कम भएका बिरामीलाई हाइफ्लोमा अक्सिजन दिनुपर्छ। सिलिन्डरको अक्सिजनमा फ्लो कम हुन्छ। त्यसैले प्लान्ट स्थापना गर्नु पर्छ,’ उनी भन्छन्, ‘संक्रमितको संख्या बढ्दै जान सक्छ। फोक्सोमा समस्या भएकालाई अक्सिजन दिनुपर्छ। निको भइसकेकामा पनि फोक्सोको समस्या देखिन सक्छ। उनीहरुलाई पनि अक्सिजन दिनुपर्छ।’

भेन्टिलेटर महँगो र त्यसलाई अपरेट गर्ने जनशक्ति पनि कम भएको अवस्थामा अक्सिजन प्लान्ट निर्माण नै उपयुक्त विकल्प हो। त्रिवि शिक्षण अस्पतालका डा. सन्तकुमार दास अहिले भेन्टिलेटरभन्दा अक्सिजन प्लान्ट नै बढी आवश्यक देखिएको बताउँछन्। उनका अनुसार कोरोनाका करिब २० प्रतिशत संक्रमितलाई अक्सिजनको आवश्यकता पर्छ। 

Hardik ivf

‘अहिलेको अवस्थामा अक्सिजन प्लान्टको आवश्यकता धेरै छ। कोरोनाका २० प्रतिशत बिरामीलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘भेन्टिलेटरमा पुग्ने जम्मा ३-४ प्रतिशत मात्रै हो। अक्सिजनको राम्रो प्रबन्ध हुँदा बिरामीलाई भेन्टिलेटरमा जानबाट रोक्न सकिन्छ।’

हाल शिक्षण अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट छन्। जसले एक हजार बेडलाई धान्न सक्ने उनको भनाइ छ। ‘हाम्रोमा दुई वटा प्लान्ट छन्। एक हजार बेडलाई धान्न सक्छ,’ उनले भने, ‘तर, अहिले सबै ठाँउमा अक्सिजन प्लान्ट स्थापना गर्न सके कोरोनाको उपचार प्रभावकारी हुने देखिन्छ।’

हरेक अस्पतालमा अक्सिजन प्लान्ट बनाउन गरी सरकारले नीति अघि सार्नुपर्ने डा. पाण्डेको तर्क छ। ‘हरेक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्नुपर्छ। सात प्रदेशमा एक–एक बनाएर मात्रै पनि पुग्दैन,’ पाण्डे भन्छन्, ‘काठमाडौंका ठूला अस्पतालमा त प्लान्ट छ नै। त्यसबाहेक निजी अस्पताललाई समेत प्लान्ट स्थापनाका लागि के सहुलियत दिन सकिन्छ। त्यसबारे सोच्न आवश्यक छ।’

अहिले सरकारले विकास निर्माणमा भन्दा मानिसको ज्यान बचाउन बजेट लगाउनुपर्ने अवस्थामा अक्सिजन प्लान्टलाई प्राथमिकतामा राख्नुपर्ने पाण्डेको भनाइ छ।

‘पेरुमा अक्सिजन अभावमा धेरै मानिसहरुको ज्यान गयो। त्यहाँको सरकारले अक्सिजनलाई  राष्ट्र हितको उत्पादन घोषणा गरेको थियो,’ उनी भन्छन्, ‘हाम्रोमा पनि सरकारले मानिसको ज्यान बचाउन बजेट खर्च गर्नुपर्छ। अक्सिजन प्लान्टलाई प्राथमिकतामा राख्नुपर्छ। पर्याप्त अक्सिजन उपलब्ध गराउन सके सेचुरेसन कम भएका बिरामीको उपचार गरेर मृत्युबाट जोगाउन सकिन्छ,’ उनी भन्छन्।

कस्ता बिरामीलाई दिनुपर्छ अक्सिजन ?

कोरोनाका गम्भीर लक्षण देखिएका बिरामीमा श्वासप्रश्वासको समस्या देखिन्छ। तिनलाई सघन उपचार र अक्सिजन दिन आवश्यक हुन्छ।

भेन्टिलेटरका राखिएका बिरामीलाई कृत्रिम श्वासप्रश्वास गराइन्छ अर्थात् अक्सिजन दिइन्छ भने अरू बिरामीलाई पनि जुनसुकै बेला अक्सिजन आवश्यक पर्न सक्छ। त्यसबाहेक लक्षण देखिएका कतिपय अन्य बिरामीलाई पनि श्वास फेर्न गाह्रो भए अक्सिजन दिनुपर्छ।

नेपालमा के छ अवस्था?

नेपालमा तीन किसिमले अक्सिनजको व्यवस्था हुँदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

ठूला अस्पतालहरूले अक्सिजन प्लान्ट बनाएर पाइपबाट बिरामीको श्ययासम्म अक्सिजन आपूर्ति गर्छन्। कोभिडको उपचारका लागि सबै अस्पतालमा यही प्रक्रियाबाट बिरामीलाई अक्सिजन दिएर उपचार गर्दा प्रभावकारी हुने विज्ञहरुको भनाइ छ।

अस्पतालमा प्रेसर स्वीङ अक्सिजन प्लान्ट राख्ने गरिन्छ। अक्सिजन कम्प्रेसरसँग जोड्दै अक्सिजन सिलिन्डर भर्न यो प्रविधि उपयोगी छ।

त्यस्तै, कन्सन्ट्रेटर नामक उपकरण प्रयोग गरेर हावाबाट अक्सिजन संकलन गरेर प्रशोधन गरेर चिकित्सकीय प्रयोजनको अक्सिजन बनाउने गरिन्छ।
उद्योगहरूले उत्पादन गरेको अक्सिजनलाई सिलिन्डरमा भरेर अस्पताललाई उपलब्ध गराउने गरेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशका ४५ वटा भन्दा बढी अस्पतालमा अक्सिजन प्लान्ट र त्यत्तिकै संख्यामा अक्सिजन कन्सन्ट्रेटर छन्।

कन्सन्ट्रेटरबाट अक्सिजन बनाउने कुरामा धेरै भर पर्न नहुने र प्लान्ट नै बनाउनुपर्ने विज्ञहरु बताउँछन्। नेपाल अक्सिजन उत्पादक संघका अनुसार अहिले कम्तीमा १६ वटा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन्।
 

प्रकाशित मिति: १४:५४ बजे, बुधबार, भदौ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्