Kathmandu Press

एकता टुङ्ग्याउन नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू

काठमाडौं, वैशाख ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकले साङ्गठनिक एकीकरण प्रस्तावलाई ....

एकता टुङ्ग्याउन नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू
फाइल फोटो

काठमाडौं, वैशाख ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकले साङ्गठनिक एकीकरण प्रस्तावलाई अन्तिम रूप दिने विश्वास गरिएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारीअनुसार, बैठक सुरु भइसकेको छ। सचिवालयमा दुई अध्यक्ष, दुई वरिष्ठ नेतासहित नौ जना छन्।नेकपाको स्थापना दिवस पारेर (भोलि) वैशाख ९ गते मध्यान्ह १२ जे प्रज्ञाभवन, कमलादीमा नेकपाले कार्यक्रम राखिसकेको छ।

पार्टी स्थापना दिवश मनाउन आयोजना गरिएको उक्त कार्यक्रमबाट समारोहमा साविकको नेकपा (नेकपा) एमाले र माओवादीकेन्द्रबीच एकीकरण पूरा भएको घोषणा गर्ने सो पार्टीको तयारी छ। ७० वर्षअघि २२ अप्रिल सन् १९४९ मा पुष्पलाल श्रेष्ठको नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहानैदेखि दुई अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसको गृहकार्यमा जुटेका थिए। दुई अध्यक्षसँगै वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि अन्तिम रुप दिने अनौपचारिक बैठकमा सहभागी थिए।

अध्यक्षद्वयले तयार पारेको प्रस्तावलाई सचिवालयले अनुमोदन गरेपछि त्यसलाई स्थायी कमिटी बैठकबाट पारित गराएर एकताको घोषणा गर्ने प्रक्रिया यसअघि पुसमा बसेको स्थायी कमिटीले तय गरिसकेको छ।

साविकका एमाले र माओवादी केन्द्र मिलेर ११ महिना ०७५ जेठ ३ गते मदन–आश्रित स्मृति दिवसमा नेकपा घोषणा भएको थियो। एकीकरणलगत्तै बसेको नेकपा केन्द्रीय कमिटी बैठकले तीन महिनाभित्र एकता टुंग्याउने बताए पनि विवादकै कारण यो लम्बिदै गएको थियो।

प्रकाशित मिति: १८:५१ बजे, आइतबार, वैशाख ८, २०७६