लकडाउनमा ज्यान गुमाएका १७२ श्रमिकको विदेशमै अन्त्येष्टि
काठमाडौं, भदौं २२ : कोरोना भाइरसका कारण गरिएको लकडाउनको समयमा ज्यान गुमाएका एक सय ७२ जना नेपाली श्रमिकको विदेशमै अन्त्येष्टि गरिएको छ। उनीहरुको...
काठमाडौं, भदौं २२ : कोरोना भाइरसका कारण गरिएको लकडाउनको समयमा ज्यान गुमाएका एक सय ७२ जना नेपाली श्रमिकको विदेशमै अन्त्येष्टि गरिएको छ।
बैदेशिक रोजगारीमा गएका श्रमिकको विभिन्न कारणले मृत्यु भएपछि नेपाल सरकारले शव ल्याउने गरेको छ। तर, लकडाउनमा अन्तर्राष्ट्रिय उडान बन्द भएकाले शव ल्याउन नसकिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।
शव ल्याउन नसकिएको श्रमिकको उनीहरुको परिवारजनको सहमतिमा विदेशमै अन्त्यष्टि गरिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। ‘परिवारको सहमतिमा राजदूताबासमार्फत उतै अन्त्येष्टि गर्ने व्यवस्था गरेको हौं,’ श्रेष्ठले भने।
बोर्डका अनुसार सबैभन्दा बढी यूएईमा ६० जनाको शव अन्त्यष्टि गरिएको छ। त्यस्तै, साउदीमा ४०, मलेसियामा आठ, कतारमा २७, कुवेतमा १३, बहराइनमा चार, ओमनमा एक, दक्षिण कोरियामा पाँच र अन्य देशमा १४ जनाको शवको अन्त्येष्टि गरिएको छ।
बैदेशिक रोजगार विभागबाट श्रम स्वकृति लिएर गएका र भिसा अवधि नसकिएका श्रमिकको मृत्यु भएमा बोर्डले सात लाख रुपैयाँ रहात दिने गरेको छ। अहिले विदेशमै अन्त्येष्टि गर्न सहमति दिने परिवारलाई थप ५० हजार रुपैयाँ राहत प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए।
यो अवधिमा केही श्रमिकको शव स्वदेश पनि ल्याइएको छ। ‘मृतकका परिवारले शव ल्याउनै पर्छ भन्यो भने ल्याएका पनि छौं । यो अवधिमा एक सय ६० जनाको शव ल्याइएको छ,’ उनले भने।
गत चैत ११ गतेदेखि साउन २३ गतेसम्म मलेसियाबाट ८४, साउदी अरबबाट ७७, कतारबाट ४९, युएईबाट १८, कुवेतबाट १०, बहराईनबाट ६, ओमन र दक्षिण कोरियाबाट एकएक जनाको शव ल्याएर परिवारलाई बुझाइएको छ। अझै विभिन्न देशबाट ७६ जना श्रमिकको शव ल्याउन बाँकी रहेको छ।
लकडाउन अवधिमा ४९४ श्रमिकको मृत्यु
बैदेशिक रोजगार बोर्डका अनुसार गत चैत ११ गतेदेखि साउन २३ गतेसम्म वैदेशिक रोजगारमा गएका चार सय ९४ जना श्रमिकको मृत्युभएको छ।
मलेसियामा ९२, साउदी अरबमा एक सय ७३, कतारमा ७७, युएईमा ८३ र कुवेतमा २५ जना श्रमिकको मृत्यु भएको छ। त्यस्तै, यो अवधिमा बहराइनमा ११, ओमनमा दुई, दक्षिण कोरियामा आठ र अन्य देशमा २३ जनाले ज्यान गुमाएका छन्।












-(86)-1764936079.jpg)