३१ परियोजनामा २५ खर्ब वैदेशिक लगानीको प्रस्ताव
काठमाडौं, चैत ८ : सरकारले गरेको लगानी सम्मेलनपछि विभिन्न देशमा लगानीकर्ताले २५ खर्ब रुपैयाँ नेपालमा लगानी गर्न चासो देखाएका छन्। सरकारले गत चैत १५ र १....
काठमाडौं, चैत ८ : सरकारले गरेको लगानी सम्मेलनपछि विभिन्न देशमा लगानीकर्ताले २५ खर्ब रुपैयाँ नेपालमा लगानी गर्न चासो देखाएका छन्। सरकारले गत चैत १५ र १६ गते लगानी सम्मेलनको आयोजना गरेको थियो। जसमा ६ सय विदेशी लगानीकर्ताहरुले सहभागिता जनाएका थिए।
लगानी बोर्डले आइतबार गरेको पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले विभिन्न ३१ परियोजनाका लागि ४८ वटा आवेदन परेको जानकारी दिए। सिइओ अधिकारीका अनुसार कृषि, स्वास्थ्य तथा शिक्षा, ऊर्जा, उद्योग, यातायात र शहरी पूर्वाधारमा विदेशीले लगानीका लागि आवेदन परेको छ।
कृषिका ५ परियोजनामा ७, स्वास्थ्य तथा शिक्षाका २ परियोजनामा २, ऊर्जाका ७ परियोजनामा ८, उद्योगको १ परियोजनामा १, पर्यटन पूर्वाधारका ३ परियोजनामा ३, यातायातका ९ परियोजनामा २२ र शहरी विकासमा ४ परियोजनामा ५ आवेदन परेको बोर्डले जनाएको छ। बोर्डले आवेदनका लागि ३५ दिनको समय दिएको थियो। २७ परियोजनाका विकासकर्ता तीन महिनाभित्र बोर्ड टुंगो लगाउने समेत अधिकारीले जानकारी दिए।
लगानी सम्मेलनमा सरकारले ५० सरकारी र २७ निजी गरी ७७ परियोजनाहरु लगानीकर्तासामू पेस गरिएको थियो। आवेदन दिएका मध्येलाई परियोजनामा लगानी गर्न कसरी दिने भनेर मूल्यांकन गर्ने सिइओ अधिकारीको भनाइ छ। अधिकारीका अनुसार निजगढ विमानस्थल निर्माणका लागि नै ६ वटा आवेदन परेका छन्। सरकारले ३० खर्ब लगानी जुट्ने अपेक्षा गरेको थियो। जसमा २५ खर्बको आवेदन पर्नु सकारात्मक भएको सिइओ अधिकारीले जानकारी दिए।






